१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

सरकारले ल्याएको बजेट भ्रम र झुटको पुलिन्दा मात्रै : क्रान्तिकारी ट्रेड युनियन महासङ्घ



काठमाडौं : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले केपी ओली सरकारले जारी गरेको बजेट दलाल पुँजीवादी संसदीय सत्ताको चुनाव लक्षित, विवादित रहेको श्रमिक सर्वहारा वर्गका निम्ति ‘कागलाई बेल बेल पाक्यो न हर्ष न विस्मात्’ मात्र भएको बताएको छ । महासङ्घका संयोजक विनोद थापाले सोमबार प्रेस वक्तव्य जारी गर्दै अहिलको सरकारले ल्याएको बजेट समृद्धि र समाजवादको झूट्टो नारा बोकेर मुठीभर कुलीन वर्गलाई खुसी पार्न ल्याईएको बताएका छन् ।

वक्तव्यमा भनिएको छ, ‘सरकारले २०७८÷७९ का लागि ल्याएको करिब साढे १६ खर्ब रकमको बजेटले श्रमिकहरूको सचेत भावनाका बीचमा लोकप्रियता प्राप्त गर्न श्रम, रोजगारी र सामाजिक सुरक्षा सम्बन्धमा औपचारिकता मात्र देखाएको देखिन्छ । रोजगारी सिर्जना, श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा योजना व्यवस्थापन, श्रमिकको विदेश पलायन न्यूनीकरणमा जोड, रोजगार सुनिश्चितता र उचित पारिश्रमिकबारे शब्दमा उल्लेख गरिए पनि व्यावहारिक कार्यान्वयनको तह विगतझैँ आशङ्कामुक्त बन्नसक्ने विज्ञप्ति उल्लेख छ । त्यस्तै विज्ञप्तिमा भनिएको छ, ‘दलाल पुँजीवादी संसदीय सत्ताको चुनाव लक्षित उक्त विवादित बजेट श्रमिक सर्वहारा वर्गका निम्ति ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ बनेको पुष्टि हुन्छ । श्रमिकहरू भोक र रोगको स्थायी समाधान चाहन्छ्न् न कि कथित चुनावी नौटङ्की ।

श्रमिक वर्गको पूर्ण मुक्तिका निम्ति सशक्त सङ्घर्षरत हाम्रो लोकप्रिय सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ श्रमिक हितविरोधी उक्त विवादित बजेट कार्यक्रममा उल्लिखित झूट्टा आश्वासन र मजदुरको सोझो भावनामाथिको खेलबाड हर्कत तत्काल बन्द गरी श्रमिकको हितमा तत्काल केन्द्रित बन्न सरकारलाई आग्रह गर्न चाहन्छ । साथै न्यायप्रेमी, मुक्तिकामी र क्रान्तिकारी मजदुर श्रमिकहरूमा कथित कम्युनिस्ट सरकार र दलाल पुँजीवादी संसदीय सत्ताको कुनै आश्वासनमा नपरी उचित, न्यायोचित तथा अपेक्षाकृत राहत, स्वास्थ्योपचारको व्यवस्था एवम् रोजगार सुनिश्चितताको एजेन्डामा सशक्त रूपमा अघि बढ्न हार्दिक अपिल गर्दछ । श्रमिक अधिकार, न्यायपूर्ण समानता र मुक्तिका निम्ति वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा अघि बढ्न हाम्रो सङ्गठन सम्बन्धित सम्पूर्ण पक्ष र तहसमक्ष हार्दिक अपिल गर्न चाहन्छ ।’


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय