६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

नेपालको चाइनिज ताईपेइमाथि २–० को जित



काठमाडौं । नेपालले विश्वकप फुटबल २०२२ को छनोट खेलमा चाइनिज ताईपेइलाई २–० ले हराएको छ । विश्वकप फुटबल २०२२ को छनोट अन्तगर्त दोस्रो चरणको खेलमा नेपालले चाइनिज ताईपेइमाथि २–० को जित हात पारेको हो ।

कुवेतको जबेर अल हमाद अन्तर्राष्ट्रिय रङशालामा अबेर राति सम्पन्न खेलमा नेपालले पहिलो र दोस्रो हाफमा एक एक गोल गर्दै जित हात पारेको हो । नेपालको जितमा अञ्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरे । खेलको तेस्रो मिनेटमै अञ्जनले गोल गर्दै नेपाललाई सुरुवाती १–० को अग्रता दिलाउनुभयो । नेपालले खेलको तेस्रो मिनेटमा पेनाल्टीको अबसर प्राप्त गरेको थियो । उक्त अबसरलाई अञ्जनले गोलमा परिणत गर्नुभयो । सन्तोष तामाङको फ्री किकमा चाइनिज ताईपेइका खेलाडीले हयाण्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएको थियो ।

पहिलो हाफसम्म १–० को अग्रता बनाएको नेपालले ८० औं मिनेटमा गोलका लागि उपयुक्त अबसर पाएको थियो । मनिष डाँगीले एकल प्रयासमा बढाउनुभएको बल पोष्टको माथिबाट बाहिरिएको थियो । तर एक मिनेट नबित्दै नवयुगले गोल गर्दै अग्रतालाई दोब्बर पार्नुभयो । नवयुग श्रेष्ठले ८१ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर पार्नुभयो । अञ्जन विष्टको पासमा सुमन अर्यालले पेनाल्टी क्षेत्रभित्रबाट दिएको क्रसलाई नवयुगले गोलको दिशा दिनुभयो ।

प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले ६५ औं मिनेटमा सुनिल बललाई बिस्थापित गर्दै नवयुगलाई उतार्नुभएको थियो । नवयुगले मैदान प्रवेश गरेको १६ औं मिनेटमै गोल गर्नुभयो । जितसँगै समूह बी मा रहेको नेपाल चौथो स्थान रहने सुनिश्चित भएको छ । नेपालले छ खेलबाट दुईमा जित र चारमा हारर बेहोरेर छ अङ्क जोडेको छ । नेपालले आफ्नो दुबै जित चाइनिज ताईपेइ बिरुद्ध नै हात पारेको हो ।

समूह बी मा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ । उसले चार खेलबाट १२ अङ्क जोडेको छ । जोर्डन र कुवेत दुबैले पाँच पाँच खेलबाट समान १० अङ्क बटुलेर दोस्रो र तेस्रो स्थानमा छन् । नेपालले चाइनिज ताईपेइ बिरुद्धको खेलका लागि सुरुवाती एघारमा इराक बिरुद्धको मैत्रीपूर्ण खेलका दुई जना खेलाडी परिवर्तन गरेको थियो । मनिष डाँगी र नवयुग श्रेष्ठ पहिलो रोजाईमा परेनन । दुबैजनाको स्थानमा सुनिल बल र आशिष लामा पहिलो प्राथमिकतामा परे ।

नेपालले चाइनिज ताईपेइ बिरुद्ध ४–३–३ को रणनीति पछ्यायो ।

नेपालले छनोट अन्तगर्तको आफ्नो सातौं खेलमा जोर्डनको सामना गर्नेछ । अन्तिम खेलमा नेपालले अष्ट्रेलियासँग स्पर्धा गर्नेछ । कुनै चमत्कार भएको अवस्थामा मात्रै विश्वकप फुटबल २०२२ का लागि नेपाल छनोट हुनेछ । नेपाल छनोट हुन कुवेत र जोर्डन दुबैले ११ अङ्कभन्दा कम जोड्नुपर्नेछ भने नेपालले बाँकीको दुबै खेलमा अष्ट्रेलिया र जोर्डनलाई हराउनुपर्नेछ । कुवेत र जोर्डन दुबैले तीन तीन खेल खेल्न बाँकी छ । आजै हुने अर्को खेलमा कुवेतले अष्ट्रेलियाको सामना गर्दैछ । यद्दपी नेपालको एशियाकप २०२३ का लागि छनोटको सम्भाबना अझै जिवितै छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय