१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

स्वयम्भुमा ‘डेटिङ’ गएका आयोजना प्रमुख श्रेष्ठलाई कारवाही गर्न गृह मन्त्रालयको निर्देशन



काठमाडौं- गृह मन्त्रालयले कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ गएका शहरी विकास मन्त्रालयका आयोजना प्रमुख रोशन श्रेष्ठलाई कारवाही गर्न निर्देशन दिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै गृहमन्त्रालयले अनुसन्धान गरी श्रेष्ठलाई के कारवाही भयो सो को विवरण समेत पठाउन निर्देशन दिएको छ ।

गत आइतबार शहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास विभागको नयाँ सहर आयोजना प्रमुख उपसचिव रोशन श्रेष्ठ प्रदेश ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडीमा स्वयम्भूमा एक युवतीसहित पुगेका थिए । निषेधाज्ञा उल्लंघन गर्दै स्वयम्भु पुगेका उनीहरु प्रेमालापमा रमाइरहेको भिडियो विभिन्न अनलाइन समाचार माध्यम तथा सामाजिक सञ्जालबाट बाहिरिएपछि उनीहरुमाथि कारवाहीको माग गरिएको थियो ।

सार्वजनिक भएको भिडियोमा उपसचिव श्रेष्ठ र ति युवतीको अस्वभाविक गतिविधि देखिन्छ भने भिडियो खिच्ने व्यक्तिले सोधेको प्रश्नको जवाफ नदिइ उनीहरु दुवैजना सरकारी गाडी हुँइक्याएर भागेको देखिन्छ । श्रेष्ठसँगै रहेकी सो युवती शहरी विकास विभागमै काम गर्ने इन्जिनियर रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !