७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

कञ्चनजङ्घा क्षेत्रमा नाउर गणना



फुङ्लिङ । ताप्लेजुङको कञ्चनजङ्घा हिमालको फेदीमा हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको खोजी गरिएको छ । कञ्चनङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद र विश्व वन्यजन्तु कोषको सहयोगमा गत हप्तादेखि नाउर गणना कार्य थालिएको हो ।

फक्ताङलुङ गाउँपालिका—७ घन्सावासी पेमा शेर्पा आहिले कञ्चनजङ्घा हिमालको वरपर नाउरको खोजीमा व्यस्त हुनुहुन्छ । शेर्पासँगै परिषदको वन तथा वन्यजन्तु प्राविधिक सुमन काफ्ले लगायत नौ जनाको टोली कञ्चनजङ्घा क्षेत्रको लोनाक खाम्बाजेन क्षेत्रमा नाउर गणनामा परिचालन हुनुभएको जनाइएको छ । त्यस्तै कञ्चनजङ्घा क्षेत्रमा नाउरको वासस्थान तथा चरणको अध्ययन अवलोकन गर्न चार वटा क्षेत्र (ब्लक)मा विभाजन गरेर नाउर र हिउँ चितुवाको बासस्थान र चरणको अवस्था बारेमा अध्ययन विगत देखि नै गर्दै आएको कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषद कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताउनुभयो । ओलाङचुङगोला, याङ्मा, घुन्सा र याम्फुदिन ब्लकमा विभाजन गरेर संरक्षणमा पाइने वन्यजन्तुको निरीक्षण हुँदैआएको चेम्जोङले बतानुभयो ।

संरक्षण क्षेत्रका चार ब्लकमा हिउँ चितुवा अनुगमन उपसमिति गठन भएको छ । नारउ र हिउँ चितुवा लागयतका वन्यजन्तुको निरीक्षण गर्ने जिम्मेवारी हिउँ चितुवा उपसमितिलाई रहेको घुन्सा ब्लक हिउँ चितुवा उपसमितिका अध्यक्ष पेमा शेर्पाले बताउनुभयो । वन्यजन्तुबाट घरपालुवा जनवाहरु क्षति पुग्यो भने उपसमितिले अवलोकन गरेर राहत उपलब्ध गराउँने गरेको शेर्पाले बताउनुभयो ।

पाँच वर्ष छि सो संरक्षण क्षेत्रमा नाउर गणना कार्य गत हप्तादेखि थालिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताउनुभयो । केही वन तथा वन्यजन्तु प्राविधिक र स्थानीय हिउँ चितुवा उपसमिति पदधिकारीहरु नाउर गणनामा परिचालन भएको तिवारीले बताउनुभयो । ब्लक विभाजन गर्दा एक क्षेत्रको वन्यजन्तु आर्को ब्लकमा नजानका लागि हिमाल, खोला आदिका आधारमा क्षेत्र सीमाङ्कन गरिएको छ । त्यसले गणनामा दोहोरिने कम सम्भावना रहेको तीवारीले बताउनुभयो ।

गत महिना विश्व वन्यजन्तु कोष र परिषद् बीच नाउर निरिक्षण र हिउँ चितुवा संरक्षण गर्नका लागि ४० लाख रुपियाँको कार्यक्रम सम्झौता भएको व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बुले बताउनुभयो । समुन्द्र सतहदेखि पाँच हजार मिटरभन्दा माथिको उचाइको हिमाली क्षेत्रमा पाइने वन्यजन्तु नाउरको हालको अवस्था र नाउरको गणना कार्य भइरहेको फेम्बुले बताउनुभयो ।

विसं २०७३ मा दुई हजार २०० को सङ्ख्यामा नाउँर रहेको परिषदका सूचना अधिकारी धमेन्द्र थापाले बताउनुभयो । पाँच वर्ष यता नाउरको निरीक्षण भए पनि परिमाण आउन नसकेको थापाले बताउनुभयो । संरक्षण क्षेत्रमा २०६० सालमा १२ वटा हिउँ चितुवा रहेको अनुमान गरिएकोमा अहिले यो बढेर कम्तीमा पनि २९ पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्रले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र कोषको सहयोगमा गरिएको ‘क्यामरा ट्रयाप’ र अन्य परीक्षणले सो संरक्षण क्षेत्रभित्रका ओलाङचुङगोला, लेलेप, याम्फुदिन क्षेत्रमा हिउँ चितुवाको सङ्ख्या २० देखि २९ सम्म रहेको संरक्षण क्षेत्रको अनुमान रहेको छ । हिउँ चितुवाको मलमूत्र परीक्षणका आधारमा पनि त्यसक्षेत्रमा उक्त सङ्ख्यामा हिउँ चितुवा रहेको परिषद्को कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !