८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

मुलुक गम्भीर संकटमा पर्दैछ भन्ने सूचना पाएको छु : डा. भट्टराई



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद‍् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकप्रति गम्भीर घात हुन लागेको सूचना आफूले पाएको र त्यो सूचना प्रधानमन्त्री केपी शर्मा ओलीदेखि राजनीतिक दलका शीर्ष नेताहरुलाई जानकारी गराएको बताएका छन् ।

त्यो सूचना के हो भन्ने नखुलाएका भट्टराईले कुनै दिन यथार्थ बाहिर ल्याउने तर अहिले बेला नभएको उल्लेख गरेका छन् । हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’सँगको कुराकानीमा डा. भट्टराईले यो कुरा उल्लेख गरेका हुन् । ‘वैशाख १३ गते करिब–करिब मध्यरातमा मेरो जीवनमा यस्तो एउटा घटना घटेको छ यो आज पनि उद्घाटित गर्दिनँ, तपाईंलाई संकेत मात्र गर्छु,’ डा. भट्टराइले भनेका छन्, ‘कुनै दिन मैले नेपाली जनतालाई बुझाउनुपर्छ किनकी म देशको सार्वभौमिकता, स्वाधिनता, देशको लोकतन्त्र र संविधानप्रति बफादार रहन भनेर सपथ लिएको पूर्व प्रधानमन्त्री हो ।’

उनले देश गम्भीर संकटमा पर्दैछ भन्ने सूचना पार्टीका जिम्मेवार नेता र अन्य पार्टीका शीर्ष नेताहरुलाई पनि जानकारी गराएको बताएका छन् । ‘त्यसैले मसँग भएका सूचना मैले कुनै दिन नेपाली जनतालाई बताउनुपर्छ । यो देशको कुर्सीमा बसेको प्रधानमन्त्री केपी ओलीलाई मैले यो कुराको जानकारी गराएर देशलाई बचाउनुपर्छ भनेर विशुद्ध आत्मा लिएर म उनीकहाँ गएको हो ।’ भट्टराईले ओलीसँगको मध्यरातको भेटबारे बताएका छन् ।

सो सूचनाको आधारमा देशलाई बचाउने हो भने केही गम्भीर कदम चाल्नुपर्छ भन्दै प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न भनेको उनको दावी छ ।

‘तपाईंले मार्ग प्रशस्त गर्नुस् एउटा राष्ट्रिय सहमतिको सरकार बनाएर जाउँ, पूर्व प्रधानमन्त्रीहरु आकाँक्षी बन्नु हुँदैन, सबैलाई मान्य हुने व्यक्ति खोजेर देशलाई निकास दिउँ भन्न म गएको हुँ,’ उनले भने, ‘मुलुकको सार्वभौमसत्ता, संविधान, स्वतन्त्रतासँग सम्बन्धित विषयमा त्यस्तो कुनै घात हुँदैछ भनेर मैले मेरो देशको प्रधानमन्त्रीलाई सूचित गरेको हो । तर मैले त्यस्तो गम्भीर विषय उठाउँदा उनले विषयान्तर गरे ।’

देशभित्र र बाहिर रहेका तत्वहरुको ठूलो ग्राण्ड डिजाइन अनुसार पाँच पुसदेखि जेठ ८ गते मध्यरातसम्मका परिघटना भएको भट्टराईको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !