७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

ग्यास बोटलिङ प्लान्ट निर्माणको तयारीमा निगम



काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्यास बोटलिङ प्लान्ट निर्माण गर्ने तयारी थालेको छ । अहिलेसम्म ग्यास बोटलिङ प्लान्टको काम नगरेको निगमले आफ्नै प्लान्ट बनाउन लागेको हो । झापाको चारआली र प्रदेश २ मा ग्यास बोटलिङ प्लान्ट निर्माण गरिने प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

त्यस क्रममा परामर्शदाता नियुक्ति गरी प्राविधिक प्रतिवेदन बनाउने काम भइरहेको निगमले जनाएको छ । उपाध्यायले भन्नुभयो, “झापाको चारआली र प्रदेश २ को जनकपुर वा सर्लाहीमा एलपी ग्यासको बोटलिङ प्लान्टको निर्माण गर्दै छौँ । अहिले डीपीआरअन्तर्गतकै प्राविधिक प्रतिवेदन बनाउने काम भइरहेको छ । ”

प्राविधिक प्रतिवेदन तयार भइसकेपछि डीपीआर निर्माणको प्रक्रिया अघि बढ्ने जनाइएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ सम्म निर्माण प्रक्रिया थालिने निगमले जनाएको छ । बोटलिङ प्लान्ट आफ्नै जग्गामा बनाइनेछ । प्लान्टका लागि निगमले झापामा पाँच बिघा जग्गा छुट्याएको छ । जनकपुरमा निगमको १० बिघा र सर्लाहीमा २१ बिघा जमिन छ । दुवै स्थानमा पाँच/पाँच हजार मेट्रिक टन क्षमताको बोटलिङ प्लान्ट निर्माण हुनेछन् ।

पुरानै कार्यक्रम

आर्थिक वर्ष २०७८/७९ को बजेटले पेट्रोलियम पदार्थको कारोबारमा विगतकै कार्यक्रमहरूलाई निरन्तरता दिएको छ । पेट्रोलियम पाइपलाइन र ग्यास प्लान्टलाई निरन्तरता दिएको हो । झापाको चारआली र अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइनको निरन्तरता भएको छ ।

नेपाल आयल निगमले अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइपलाइनको प्राविधिक प्रतिवेदन तयार गरिसकेको छ । निगमले प्राविधिक कमिटी गठन गरेर प्रतिवेदन तयार गरेको थियो । निगमका प्रवक्ता उपाध्यायले भन्नुभयो, “अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइनको प्राविधिक प्रतिवेदन हामीले सरकारलाई बुझाएका छौँ । अब कसरी अघि बढ्ने भन्ने कुरा मन्त्रिपरिषद्ले निर्णय गर्छ । ” मन्त्रिपरिषद्ले कुन मोडलमा काम गर्ने भन्ने कुराको निर्णय गर्ने उहाँको भनाइ छ ।

६५ किलोमिटर सो पाइपलाइन विस्तारका लागि कोरोना महामारीको बन्दाबन्दीले गर्दा फिल्डमा गरिने काम प्रभावित भए पनि स्थगित नभएको निगमले जनाएको छ । दुई वर्षअघि सञ्चालन भएको मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सम्पन्न गरेपछि चितवनको लोथरसम्म विस्तार गर्न नेपाल र भारतबीच समझदारी भएको थियो । सर्भे सकिएपछि संयुक्त कार्य समूहले डीपीआरलगायत आयोजनाको मोडालिटीका बारेमा छलफल गर्नेछ ।

झापा चारआली—सिलगुडी पेट्रोलियम पाइपलाइनको रुट पहिचान भएको छ । सर्भे सम्पन्न गरी तीनवटा रुटमध्ये उपयुक्त रुटको पहिचान गर्ने क्रममा छ । रुटको पहिचानपछि डीपीआर निर्माणको प्रक्रियामा जाने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

चारआली—सिलगुडी पेट्रोलियम पाइपलाइन करिब ५० किलोमिटर लम्बाइको छ । भारततर्फ ३५ र नेपालमा १५ किलोमिटर पाइपलाइन हुनेछ । प्रवक्ता उपाध्यायले भन्नुभयो, “चारआली–सिलगुडी पेट्रोलियम पाइपलाइन अहिले सर्भे सम्पन्न गरी रुटको पहिचान गर्ने काममा छौँ । हामी प्रारम्भिक चरणमै छौँ र प्रारम्भिक चरणका काम नै भइरहेका छन् । ”
पाइपलाइनबाट आएको पेट्रोलियम पदार्थलाई चारआलीमा भण्डारण गरिनेछ । भण्डारण क्षमता वृद्धि गरिनेछ । पाइपलाइनसँगै चारआलीमा ४१ हजार केएलको भण्डारण क्षमता निर्माण हुनेछ । जसको लेआउट तयार गर्ने काम भइरहेको निगमले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !