७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

कालापानी कब्जा गरेको भारतले कञ्चनपुरका स्थानीयलाई सीमा भित्र घुसेर दु:ख दिन थाल्यो



कञ्चनपुर । नेपालको आर्थिक, सामाजिक र राजनीति क्षेत्रमा सन् १९५० को सन्धि यता हस्तक्षेप गर्दै आएको भारतले पछिल्लो समय नेपाली सीमा नाकामा अतिक्रमण बढाउन थालेको छ । नेपाली भूमि कालापानी, लिम्पियाधुरा, लिपुलेक, ठोरीमा कब्जा गरेको भारतले पछिल्लो लामो समयदेखि कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रमा अतिक्रमणको प्रयास गरेको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा वर्षौंदेखि खेती गर्दै आइरहेका नारायणप्रसाद अधिकारीको परिवारलाइ भारतीय सीमा सुरक्षा बल एसएसबीले दुःख दिँदै आइरहेको छ ।

२०५४ सालको नापीको फिल्ड बुकमा कायम भएर २०६६ सालमा सेतो पुर्जा पाइसकेका अधिकारी परिवारले खेती गर्ने समयमा एसएसबी खेतमा नै आएर रोक्दै दुःख दिने गरेको छ । उनले सेतो पुर्जाको राजस्व नेपाल सरकारलाई बुझाएको बिल समेत राखेका छन् । उक्त जमिनमा २०२२ सालदेखि आफूले खेती गर्दै आइरहेको र यो खेतीबाली लाउने समयमा भारतीय पक्षले आएर हरेक साल दुःख दिने गरेको अधिकारीले बताउनुभयो ।

यसरी नेपाली सिमानाकामा दादा गीरी देखाउदै धम्क्याउँदै आइरहेका एसएसबीको दुःख र कष्ट भोग्दै आएका अधिकारी परिवार र स्थानीयले नेपाली सीमानाकामा दादागिरी देखाउनु भन्दा चाइना र कार्गेलमा गएर यस्तो दादागिरी देखाउनुस् भन्ने जवाफ दिएका थिए । तर एसएसबीले उल्टै नेपालीलाइ खेतबारीबाटै उठाएर लग्ने ठाडो धम्की दिएका छन् । भारतीय एक उच्च अधिकारीले आफ्ना सुरक्षाकर्मीलाइ धेरै बोल्नेको फोटो खिचेर राख्न आदेश दिएको छ । स्थानीय र अधिकारी परिवारले धेरै बोलेमा एफआइआर दर्ज गरी खेतबाट नै उठाएर लग्ने धम्कीसमेत एसएसबीले दिएका छन् । भारतीय पक्षले उक्त जमिन ‘नो मेन्स लेण्ड’मा पर्ने भन्दै खेतीपाती लगाउन रोक्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !