१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

विश्वासको मत पाएपछि मुख्यमन्त्रीले भने-कांग्रेसलाई पनि सरकारमा ल्याउने



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पनि सरकारमा सहभागी गराउने विषयमा छलफल गर्ने बताएका छन् । मंगलबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री भट्टले कांग्रेसलाई सरकारमा ल्याउने विषयमा छलफल गर्ने बताएका हुन् ।

विश्वासको विपक्षमा मतदान नगरेर कांग्रेसका १२ जना प्रदेशसभा सदस्य तटस्थ बसेको सन्दर्भमा राखिएको जिज्ञाशामा उनले भने, ‘कांग्रेसलाई सरकारमा ल्याउने विषयमा हामी छलफल गछौँ । त्यो कुरा पछि नै थाहा हुन्छ ।’

उनले आफ्नो नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गरेकाले अब प्रदेशको समृद्धिका लागि परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् । ३ वर्षे कार्यकालको उपलब्धी देखिने समय पनि भइरहेका कारण प्रदेशसभाले आफूमाथि गरेको विश्वास कायम रहनेगरी जनताको पक्षमा द्रूत गतिमा सरकारले काम गर्ने बताए ।

आफू लोकतन्त्रमा विश्वास गर्ने व्यक्ति भएकाले संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा विश्वासको मत लिएको बताउँदै पक्षमा मतदान गर्ने प्रदेशसभा सदस्यलाई धन्यवाद समेत दिएका छन् ।

मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका हुन् । उनको पक्षमा माओवादी केन्द्रका १३ र एमालेको माधव नेपाल समूहका १७ जना गरेर ३० मत खसेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १२ जना प्रदेशसभा सदस्य बैठकमा सहभागि भएपनि उनीहरुले मत हालेनन् । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय ७ र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्यले विश्वासको प्रस्तावको विपक्षमा मत हालेका थिए ।

मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्रीले विश्वास नपाउने अवस्थामा मात्र मतदान गर्ने निर्णय गरेको थियो । कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले संविधान र लोकतन्त्रको रक्षाका लागि यस्तो निर्णय लिएको बताएका छन् ।

‘संविधान र लोकतन्त्रको रक्षा गर्नू अहिलेको प्रमुख प्राथमिकता हो,’ रावलले भने, ‘देश भुटानीकरण हुने देखिएकाले हामीले अहिलेको सरकारको पक्ष र विपक्षमा भन्दा पनि तटस्थ बस्ने निर्णय गरेका हौँ ।’ तर रावललाई प्रदेशसभामा मुख्यमन्त्री भट्टले मत दिन आवश्यक नपर्ने संकेत गरेपछि उनीहरुले मतदानमा भाग नलिएका हुन् ।


प्रतिक्रिया दिनुहोस !