७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

सिंचाई डिभिजन कार्यालयका गाडी चालक मृत अवस्थामा फेला



विराटनगर । प्रदेश १ मुख्यमन्त्री निवास अगाडी सरकारी गाडीका चालक मृत भेटिएका छन् । सिंचाई डिभिजन कार्यालय सुनसरीको गाडीका चालक मृत अवस्थामा फेला परेका हुन् । प्रदेश १–०४–०००१, झ–०००६ गाडीका चालक उदयपुर बेलका–३ का राज ढकाल मंगलबार दिउँसो मृत भेटिएका हुन् । उनी हाल विराटनगर–३ पुष्पलाल चौकमा कोठा लिएर बस्दै आएको खुलेको छ । गाडी भित्रै कोही व्यक्ति निस्सासिएर छट्पटाई रहेको सूचना पाएपछि घटनास्थलमा प्रहरी पुगेर गाडीको लक पछाडीबाट फुटाएर उद्धार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । प्रहरीले २ः३० बजे सूचना पाएको र उद्धारपछि नोबेल अस्पतालमा पठाएको खड्काले जानकारी दिए । नोबेलका चिकित्सकले ३ः३० बजे चालकको मृत्यु भएको घोषणा गरेका थिए ।

सरकारी गाडी त्यहाँ कसरी पुग्यो भन्ने कुरा रहस्यमय बनेको छ । त्यो गाडी किन र कसरी त्यहाँ पुग्यो भन्ने रहस्यमय जस्तो देखिएका कारण घटनाको भित्री पाटोमा गहिरो अनुसन्धान सुरु गरेको उहाँको भनाई छ । प्रहरीले प्रारम्भिक रुपमा गाडीका सबै ढोका बन्द भएकोले निस्सासिएको वा अन्य केहि सेवन गरेको हुनसक्ने अनुमान गरेको छ । तर, घटनाको भित्री पक्ष भने अहिले नै यकिन भईनसेकोले सुक्ष्म अनुसन्धान सुरु गरिएको बताएको छ । स्थानीयका अनुसार बिहानै ८ बजे गाडी रोकिएको थियो । चालक सिट फोल्ड गरेर सुतेकै अवस्थामै थिए । मुख्यमन्त्रीको निवास अगाडी सरकारी गाडी रोकेर राखिएको भनेपछि स्थानीयले खासै याद गरेका थिएनन् ।


प्रतिक्रिया दिनुहोस !