७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

कर्णालीका गाउँ गाउँमा डडेलो झै फैलिँदै कोरोना संक्रमण



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का संक्रमित शहरी क्षेत्रमा घटे पनि गाउँ गाउँमा फैलिइरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बुधबार पत्रकार सम्मेलनमार्फत गाउँगाउँमा कोरोना संक्रमण फैलिन सुरु गरेको बताए । पछिल्लो समय कर्णाली प्रदेशको संक्रमण दर उच्च रहेको समेत पौडेलले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशमा ३५३ जनामा कोरोना परीक्षण गर्दा १५७ जनामा पोजेटिभ देखिएको छ । कर्णाली प्रदेशका गाउँ गाउँमा कोरोनाका लक्षण भएका बिरामी रहेको सूचना प्राप्त भएको उनले सुनाए । यस्तै सुदूर पश्चिम प्रदेशमा ६१० जनाको परीक्षण गर्दा २२९ जनाको संक्रमण पुष्टि भएको उनले बताए । यहाँ ३७.५ प्रतिशतमा संक्रमण देखिएको जनाइएको छ ।

गत २४ घण्टामा गण्डकी प्रदेशमा १ हजार २१ जनाको कोरोना परीक्षण गर्दा ३०२ जनामा संक्रमण भएको पाइएको छ । त्यहाँ परीक्षण गरेका २९.६ प्रतिशतमा संक्रमण देखिएको जनाइएको छ । प्रदेश नम्बर १ मा १७७९ जनामा कोरोना परीक्षण गर्दा ६२३ जना कोरोना संक्रमण भएको प्रवक्ता डा. पौडेलले बताए । हाल देशभर ४८.८ प्रतिशत महिला र ६१.२ प्रतिशत पुरुष संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ४६ जिल्लामा ५ सय भन्दा बढि संक्रमित देखिएका छन् भने पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर परीक्षण गर्दा ३४४९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ४५६८ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !