१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

भारतको विष्फोटले नेपालको बाटो भत्कियो, आवतजावत पूर्णरुपमा अवरुद्ध



दार्चुला । भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा गरेको विस्फोटक पदार्थ विस्फोटनबाट दार्चुलामा नेपालतिरको बाटोसमेत भत्किएको छ । महाकाली नदी वारि नेपालतिर ढुङ्गा आएर बाटो अवरुद्ध भएको हुँदा नेपाली नागरिकलाई आवातजावातमा समस्या भएको छ । मङ्गलबार दिउँसो व्यास गाउँपालिका–२ को कल्जु क्षेत्रमा भारतले सडक निर्माणका क्रममा विस्फोट गराउँदा तम्बाकु क्षेत्रमा बाटो अवरुद्ध भएको स्थानीयवासी मुकेश बुढाथोकीले जानकारी दिए । उनका अनुसार प्रहरी चौकी दुम्लीङबाट करिब २०० मिटर उत्तरी क्षेत्रमा पर्ने तम्बाकु क्षेत्र नजिकै नेपालतिरको बाटो पूरै अवरुद्ध भएको छ ।

भारतको सडक निर्माणका क्रममा आएको पहिरो नेपालतिर पुगेको हो । स्थानीय र प्रदेश सरकारको लगानीमा निर्माण गरिएको घोरेटो बाटो पूर्णरूपमा भत्किएको छ । घोरेटो बाटो भत्किँदा नेपालतिरको आवतजावत पूर्णरूपमा बन्द भएको बुढाथोकीले बताए । भारतले धार्चुला लिपुलेक मानसरोवर सडक दुई लेनको बनाउनका लागि हाल गर्वाधार क्षेत्रमा चट्टान काटिरहेको छ । भारतले सडक निर्माणका क्रममा अत्यधिक जिलेटिनको प्रयोग गर्ने भएकाले बेलाबेलामा नेपालतर्फको बाटो अवरुद्ध हुने गरेको छ ।

दुम्लीङदेखि बुदीसम्म भारतले सडक विस्तार र निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गरेर नेपालतिर क्षति पुर्याएको छ । ढुङ्गाहरु ठाउँठाउँमा नदीमा मिसिएर थुनिएका छन् । ठाउँठाउँमा भारतबाट आएका ढुङ्गा महाकाली नदीमा गएर नदीको धार समेत परिवर्तन गरेको छ । भारतीयले सडक निर्माणका क्रममा ढुङ्गा आएर अवरुद्ध भएको छाङरु जोड्ने नेपालतिरको घोरेटो बाटो प्रहरी र स्थानीयवासीको सक्रियतामा निर्माण शुरु गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय