१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

प्रधानमन्त्री ओलीको हत्या गर्ने अभिव्यक्ति आपराधिक र निन्दनीय : एमाले



हेटौडा : नेपाली कंग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभा बैठकमा नै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएको नेकपा एमालेले बताएको छ । वैद्यको अभिव्यक्तिको भर्त्सना गर्दै एमालेले यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय भएको पनि ध्यानाकर्षण गराएको हो ।

प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ – बागमती प्रदेशसभाको हिजोको बैठकमा एकजना सदस्यले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा (एमाले) ले अत्यन्त गम्भीर रुपमा लिएको छ । प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ ।

नेपाली काँग्रेसका प्रदेश सांसद वैद्यले बागमती प्रदेश सभामा बोल्दै प्रधानमन्त्री केपी ओली विरुद्ध नाथुराम गोड्से हुन तयार रहेको अभिव्यक्तिलाई लिएर यतिबेला राजनीति तरङ्गित बनेको छ । शुक्रबार बागमती प्रदेश सभाको बैठकमा वैद्यले प्रधानमन्त्री ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफै बन्न तयार हुने अभिव्यक्ति दिएका थिए । नाथुराम गोड्से ती व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !