१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

ओलीको मध्यमार्गी प्रस्ताव, अदालतको फैसला स्वीकार गरेर एकतामा जान नेपाल पनि तयार



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफु संकटमा परेपछि माधव नेपाल समूहलाई पनि बैठकमा बोलाउने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि नयाँ पार्टी गठनको तयारीमा रहेका एमालेका वरिष्ठ नेता नेपाल पार्टी अध्यक्ष ओलीले २०७५ जेठ २ गते फर्किने सन्देश पठाएपछि पार्टी एकतामा फर्किने तयारीमा रहेको स्रोतको दाबी छ । नेपाल समूहको असहयोगपछि तीन ओटा प्रदेशमा एकपछि अर्को गरी बल्ड्याङ खाएसँगै वरिष्ठ नेता नेपाल बिनाको एमाले मासिने खतरा देखेपछि ओलीले मध्यमार्गी प्रस्ताव ल्याएको स्रोतको दाबी छ । स्रोतले भन्यो, तीन प्रदेशमा हार बेहोरेपछि ओलीलाई पार्टीको महत्व थाहा भएको छ । ओलीले पार्टीमा सधै एकलबीर ठानेका थिए । आफ्नो गुटबाहेक अरुलाई स्वीकारै नगर्ने, फरक विचारलाई पूर्ण निषेध गर्ने, निर्णयहरु सामुहिक नभएर समान्तहरुले झै फरमान जारी गर्ने, राजनीतिक र सांगठानिक निर्णयलाई अध्यक्षको पेवा ठान्ने र संकिर्ण गुटलाई नै पार्टीका रुपमा बुझ्ने अहंकार थियो तर पछिल्ला राजनीतिक घटनाबाट ओलीले पाठ सिकेका छन् । तीनओटा प्रदेशमा धुलोपिठो भएपछि एमालेको एकताको पक्षमा उभिएका हुन सक्छन् ।

त्यस्तै प्रतिनिधि विघटनको रिटमाथि सर्वोच्च अदालतले जे निर्णय गरेपनि स्वीकार गरेर एमाले एकतामा जानु हुने नेपाल समूहका दोस्रो पुस्ताका नेताहरुले नेतृत्वमाथि चर्को दबाब दिईरहेका छन् । सर्वोच्चले प्रतिनिधि सभा विघटनलाई सदर गरे पनि नेपाल समूहले स्वीकार्ने र पुनस्थापना गरे पनि ओलीले स्वीकार गर्ने गरी पार्टी एकताको अन्तिम तयारी रहेको स्रोतले बतायो । अहिले ओलीले आफ्नो सत्ता करिब डेढ बर्ष टिकाई राख्न सर्वोच्चको जे फैसला आए पनि स्वीकार गर्ने नेपाल समूहका दोस्रो पुस्ताका नेताहरुलाई खबर पठाईसकेको स्रोतको दाबी छ । त्यस नेपाल समूहका नेताहरु पनि तयार देखिएका छन् । स्रोतले भन्यो, निर्वाचन आयोगको निर्णयपछि जसपा विभाजन पनि वैधानिक रुपमा रोकिएको छ । त्यस्तै अहिलेलाई एमालेको विभाजन पनि रोकेर ओलीले आफ्नो पद जोगाउन नयाँ गोटी चालेका हुन् । यदी संसदको पुनस्थापना भईहाले ओलीले नेपाल समूहसहितको एकतापछि एमालेको १२१ र जसपाको ३२ मतको सहयोगमा पुन विश्वासको मत लिएर बहुमतको प्रधानमन्त्री बन्न नयाँ गोटी चालेको उच्च स्रोतको दाबी छ ।

ओलीको यो मध्यमार्गी प्रस्तावले सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिने ओली पक्षका एक नेता बताउँछन् । उनी भन्छन्, एमाले विभाजन गर्ने प्रचण्डको उक्साहटको पनि सहज व्यवस्थापन हुने र प्रधानमन्त्री ओलीको पद पनि थप डेढ बर्ष सुनिश्चित हुने । सर्वोच्चको फैसला स्वीकार गरेर जेठ २ मा फर्कने र एमालेको एकता गर्ने ओलीको मध्यमार्गी (उईन-उईन) प्रस्ताव एकतामा जानु पार्टी एकताको नयाँ शुत्र हो । उता नेपाल समूह पनि ओलीको प्रस्ताव साकारात्मक रहेको बताउँदै आएको छ । तर एकता पश्चात विश्वासको मत प्राप्त गरेर ओलीले अध्यक्षको प्राधिकारको प्रयोग गरी आफुमाथि विभिन्न प्रकारका डण्डी बर्साउने संभावना बढी रहेको नेपाल समूहको आशंका छ । ओली सुध्रिए भन्ने हामीलाई लाग्दैन । ओली साह्रै कुपमण्डुप छन् । सामन्ती संस्कारले ग्रस्त ओली तीन प्रदेशमा हारेकै भरमा सुध्रिए भन्नु हतारो हुन्छ । आफ्नो संकट टार्न जे पनि तिकडम, जालझेल र वेईमानी गर्न तयार हुन्छन् नेपाल समूहका एक नेताले भने ।


प्रतिक्रिया दिनुहोस !