४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

दश महिनामा १ लाख ६६ हजार वैदेशिक रोजगारीका लागि बाहिरिए : हेर्नुस्, कुन देशमा कति ?



काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १ लाख ६६ हजार भन्दा धेरै नेपालीहरु वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा संस्थागत, व्यक्तिगत नयाँ, पुन श्रम स्वीकृति र वैधानिकरण गरी श्रम स्वीकृति लिएर १ लाख ६६ हजार ५ सय ६६ जना नेपालीहरु विदेशिएका हुन् । जसमध्ये नयाँ श्रम स्वीकृति लिएर ७७ हजार १२ जना र पुनः श्रम स्वीकृति लिएर ८९ हजार ५ सय ५४ जना विदेशिएका छन् । गत आर्थिक वर्ष २०७६ ७७ को १० महिनाको अवधिमा नेपालबाट नयाँ श्रम स्वीकृति लिएर १ लाख ९३ हजार ८ सय ८० नेपाली श्रमिक वैदेशिक रोजगारीमा गएका थिए ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड(१९ महामारीले गर्दा वैदेशिक रोजगार क्षेत्र प्रभावित बन्दा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानिकरण) लिनेको संख्या ६०।३ प्रतिशतले घटेको हो । राष्ट्र बैंकले तथ्याङ्क अनुसार गत वर्षको १० महिनाको तुलनाको अवधिमा चालु आवको सोही अवधिमा ६०.३ प्रतिशतले गिरावट आएको देखाएको हो । कोरोना भाइरस महामारीका कारण श्रम गन्तव्य मुलुकहरु मलेसिया, कुवेत लगायत देशले नेपालबाट श्रमिक लिएका छैनन् । कतार, साउदी, ओमान, युएई (सरकारी र गैरसरकारी क्षेत्रमा मात्र) लगायत देशले नेपालबाट श्रमिक लगेपनि अन्तर्राष्ट्रिय उडान बन्द, लकडाउन र निषेधाज्ञाले गर्दा वैदेशिक रोजगार प्रभावित बन्दै आएको छ ।

पुनः श्रम स्वीकृति लिनेको संख्या पनि चालु आवमा ४९ प्रतिशतले घटेको छ । गत वर्षको १० महिनाको अवधिमा पुनः श्रम स्वीकृति लिएर जाने युवाको संख्या १ लाख ७५ हजार ५ सय ५१ जना थियो भने चालु आवमा सो संख्या घटेर ८९ हजार ५ सय ५४ जनाले मात्रै पुनस् श्रम स्वीकृति लिएका छन् ।

कुन देशमा कति ?

चालु आवको १० महिनाको अवधिमा श्रम स्वीकृति लिएर विदेश जानेको संख्याको आधारमा कतार एक नम्बरमा परेको छ । १८ हजार ३ सय ७३ जनाले नयाँ श्रम स्वीकृति र २८ हजार ६ सय ८४ जनाले पुन श्रम स्वीकृति लिएर कुल ४७ हजार ५७ जना कतारमा गएका छन् । ४५ हजार ८ सय ५६ जनाले श्रम स्वीकृति लिएर युएई गएका छन् । त्यस्तैगरी ४४ हजार ८ सय १३ जनाले श्रम स्वीकृति लिएर साउदी अरब गएका छन् । मलेसियामा ५ हजार १ सय ४३, बहराइनमा ४ हजार ५ सय १०, ओमन ३ हजार ५०, कुवेतमा २४ सय ४१ जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएर नेपालीहरु विदेशिएका छन् ।


प्रतिक्रिया दिनुहोस !