काठमाडौं : सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभाको पुनर्वहाली गर्न आदेश दिएपछि नेकपा एमालेको माधव समूह विपक्षी गठबन्धनबाट अलग भएको छ । हिजो मात्रै माधव र ओली पक्षको बीचमा पार्टी एकता गर्न १० बुँदे सहमति भएको थियो । त्यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भोलि सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भएका छन् । सर्वोच्चको फैसला लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकपछि प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले प्रारम्भमा सानो मन्त्रीमण्डल गठन गर्ने र दलहरुकोबीचमा सहमति र सहकार्यलाई अगाडि बढाउँदै लैजाने विषयमा छलफल भएको जानकारी दिए ।
खाँणले बैठकमा संविधान, लोकतन्त्र र संसद्को रक्षाका लागि सर्वोच्चले गरेको आदेश ऐतिहासिक भएको भन्दै स्वागत गरिएको र यसमा सहयोग पुराउनेलाई धन्यवाद पनि दिएको बताए । त्यसैगरी पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने र सबै दलहरू मिलेर अघि बढ्ने बारे छलफल भएको बताए । उनले भने, ‘सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभाको पुनर्वहाली पनि गरेको छ । शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश पनि जारी गरेको छ । सर्वोच्च अदालतले ऐतिहासिक र महत्त्वपूर्ण फैसला गरेको छ । त्यस कारणले हामी पाँचै दलले सर्वोच्च अदालतलाई हार्दिक धन्यवाद पनि दिएका छौ । यो निर्णय स्वागतयोग्य छ । यसले संविधानको रक्षा, लोकतान्त्रिक मूल्य मान्यता, र राष्ट्रियता र नागरिकको हक अधिकारलाई पनि यसले सुदृढ गराउने काम गरेको छ । ट्र्याक बाहिर गएको लोकतान्त्रिक मूल्यमान्यता माथि प्रहार भएकोमा अहिले ट्र्याकमा आएको छ खाँडले भने ।
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले बैठकमा दलीय प्रणालीका आधारमा सहमति र सहकार्य गर्दै संविधानले मार्गचित्र गरे अनुसार अगाडि बढ्ने बारेमा छलफल भएको बताए । लोकतन्त्रको रक्षा, संविधानको रक्षा, गणतन्त्र र नागरिक अधिकारको रक्षाका लागि आएको फैसलाको स्वागत गर्दै सबैलाई आभार प्रकट गरिएको बताए । सरकार गठन एकलौटी ढङ्गले नचलाइ सबै राजनीतिक दलहरूसँग सल्लाह गरेर फराकिलो ढङ्गले सरकार बनाई एकताबद्ध भएर अगाडि बढ्नुपर्छ भन्नेमा नै सबैले जोड दिएको बताए । नेता नेपाल पक्षका नेता रघुजी पन्तले सर्वोच्चको आदेश सँगै नयाँ परिस्थिति सृजना भएको भन्दै परिवर्तित अवस्था बुझ्न नेताहरूलाई आग्रह गरेको जानकारी दिए । एकलौटी र एकपक्षीय ढङ्गले चल्ने कुराको सधैँ विपक्षमा रहँदै आएको भन्दै सबैलाई समेटेर अगाडि बढ्न र एकलौटी ढङ्गले नचल्न आग्रह गरेको जानकारी दिए ।
जनता समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराईले सर्वोच्चले प्रतिगमनकारी हर्कतलाई रोक्ने र देशलाई सही बाटोमा ल्याउने काम गरेको बताए । उनले देउवाको नेतृत्वमा सरकार बनाउन लागि पर्ने र गठबन्धनको सरकारलाई प्रभावकारी कसरी बनाउने भन्नेबारेमा पनि तयारी गरेर सहमति कायम गरि अघि बढ्ने बारे गठबन्धनमा छलफल भएको बताए । विपक्षी गठबन्धनले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक र महत्त्वपूर्ण फैसला भएको भन्दै सर्वोच्च अदालतलाई धन्यवाद दिएको छ ।