१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

आधा मात्र यात्रु राखेर सेवा दिन सकिन्न- वायुसेवा सञ्चालक



काठमाडौं । वायुसेवा सञ्चालकहरुले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्नुपर्ने सरकारको निर्णयमा असहमति जनाएका छन् ।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा १ असोजमा उडान खुला गर्ने निर्णय सार्वजनिक भएपनि सोही दिन जहाज उड्न नसक्ने र ५० प्रतिशत यात्रु राखेर समेत उडान सम्भव नभएको अडान दोहोर्‍याएका छन् ।

मन्त्रालयले भने यसअघि तोकिएको सबैभन्दा माथिल्लो दरमा भाडा लिन पाउने गरी सहमति गर्न प्रस्ताव गरेको छ । तर, व्यवसायी भने भर्खरै महामारीका कारण घरभित्रै थुनिएर बसेका यात्रुले मँहगो भाडा तिरेर यात्रा गर्न नसक्ने भन्दै असहमति जनाएका हुन् ।

‘५० प्रतिशत मात्र यात्रु राख्नुपर्ने विषयमा हाम्रो असहमति छ, अन्य विषयमा समस्या होइन, यात्रुको संख्यामा सहमति भए ५ असोजबाट भने जहाज उडाउन व्यवसायी तयार देखिएका छन्,’ उनले भने, ‘भाडा बढाउने निर्णयमै हाम्रो असहमति हो, किनकी यात्रुलाई मार पारेर हामी व्यवसाय अगाडि बढाउन सक्दैनौं ।’

यसअघि सरकारले मंगलबार १ असोजबाट हवाई उडान खुल्ने बताएको थियो । तर, मन्त्राालयले मंगलबार नै वायुसेवा कम्पनीहरुलाई बुधबार छलफलका लागि गरिएको आमन्त्रणमा भने मन्त्रिपरिषद्बाट ५ असोजबाट उडान गर्ने उल्लेख छ ।

यसरी पटकपटक फरक-फरक निर्णयले वायुसेवा सञ्चालक नै अन्यौलमा परेको व्यवसायीले बताएका छन् । सोहीअनुसार वायुसेवा सञ्चालकहरुले आजै अहिलेकै अवस्थामा सेवा सञ्चालन गर्न नसक्ने व्यहोराको पत्र दर्ता गर्दैछन् ।


प्रतिक्रिया दिनुहोस !