११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

सास रहुञ्‍जेलसम्म लडिरहन्छु : डा. केसी



जुम्ला — चिकित्सा शिक्षामा सुधारको माग गर्दै रानीचौरस्थित बाविरामष्ट मन्दिरमा १९ औं अनशन थालेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । अनशन बसेको चौथो दिनमै स्वास्थ्य अवस्था बिग्रिए पनि केसीले स्लाइनसमेत लगाउन मानेका छैनन् ।

डा.गोविन्द केसीको अनशनप्रति समर्थन जनाउन रानीचौरस्थित बाविरामष्ट मन्दिरमा पुगेका स्थानीयबासी ।

उनको स्वास्थ्य अवस्था खस्किदै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.प्रविन गिरीले बताए । उनका अनुसार प्रतिष्ठानको टोली बिहीबार केसीको स्वास्थ्य अवस्था जाँच गर्न अनशनस्थल पुगेको थियो । ‘स्लाइन लगाउन पनि दिनुभएन,’ उनले भने, ‘शरीरका विभिन्न भागमा कमजोरी देखा परेको छ ।’

प्रतिष्ठानमा एमबीबीएसलगायत कार्यक्रम सञ्चालन गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २, गण्डकी प्रदेश तथा डोटी, डढेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल सञ्चालनको लागि प्रक्रिया अघि बढाइनुपर्ने माग राख्दै केसी अनशनमा बसेका हुन् । २०७५ साउन १० गते भएको सम्झौता कार्यान्वयन हुनुपर्ने माग केसीको छ ।

‘सास रहुञ्जेलसम्म लडिरहन्छु,’ डा.केसीले भने, ‘मेडिकल माफियाको अन्त्य र गरिब जनताको छोराछोरीले डाक्टरी पढ्न पाउने एजेण्डासहित पवित्र बाविरामष्टो मन्दिरमा सत्याग्रहमा बसेको हुँ ।’ डा. केसीले मन्दिर नजिकैको डुडुलचैत्यमा अनशन बस्न खोजेका थिए । तर प्रहरीले त्यहाँ जान नदिएपछि उनी मन्दिरमै अनशन बसेका हुन् ।

डा.केसीलाई मुगाली समुदायको समर्थन

डा. केसीको अनशनप्रति जुम्लाका मुगाली समुदायले समर्थन जनाएका छन् । बिहीबार अनशनस्थलमा केसीलाई भेट्न पुगेका मुगाली समुदायका झण्डै एक सय बढी अगुवाले उनको अभियानप्रति ऐक्यबद्धता जनाएका हुन् ।

‘डा.केसीका मागहरु जायज छन्, हाम्रो अधिकारका लागि उहाँ लडिरहनुभएको छ,’ समुदायका अगुवा महेन्द्र कार्कीले भने, ‘आवश्यक परे हामी पनि सडकमा आउन तयार छौं ।’ डा.केसीको मागको सम्बोधन गर्न माग गर्दै युथ कांग्रेस, जुम्ला र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

कर्णालीजस्तो दुर्गम ठाउँमा डाक्टरी पढाइ गरिनुपर्ने कर्णालीबासीको माग डा. केसीले गरिरहेको स्थानीय विद्यार्थी अनिल थापाले वताए । ‘हामी आफैं अनशन बस्नुपर्ने हो,’ उनले भने, ‘उहाँ अनशन बसेपछि केसीको जीवनरक्षाका लागि जस्तोसुकै कदम लिन पनि हामी तयार छौं ।’ केसीका माग समयमै पूरा गर्न सरकार तयार नभए युवाहरु आन्दोलनमा उत्रिने स्थानीय प्रज्वल महतले बताए ।


प्रतिक्रिया दिनुहोस !