१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

बन्न थाल्यो शैक्षिक क्षेत्र चलायमान, त्रिविको निर्णय अर्को साता



काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणसँगै दैनिक गतिविधि बढेपछि अब शैक्षिक क्षेत्र थप चलायमान हुने भएको छ ।

विद्यालय तथा विश्वविद्यालयका भौतिक कक्षा सञ्चालन नभए पनि विद्यार्थीको सिकाइले निरन्तरता पाउनुका साथै स्थगित विभिन्न तहका परीक्षा छिट्टै सञ्चालन हुने सम्भावना बढेको हो ।

विद्यार्थीको हातमा पुस्तक

विद्यालय तहमा अध्ययन गर्ने सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगिसकेको दाबी जनक शिक्षा सामग्री लिमिटेडका महाप्रबन्धक महेश तिमिल्सिनाले गर्नुभयो । यस वर्षको शैक्षिक सत्रको सबै पाठ्यपुस्तकको बिक्री वितरण भइसकेको छ । गत असारसम्म एक करोड ६० लाख थान पुस्तक बिक्री भइसकेका छन् । कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक भने निजीले छापेको थियो । कक्षा कोठामा विद्यार्थीको पठनपाठन नचले पनि सबै विद्यार्थीकहाँ पुस्तक पुगेको महाप्रबन्धक तिमिल्सिनाले बताउनुभयो ।

सरकारले चालू शैक्षिक सत्र वैशाखबाटै सुरु भएको र चैतभित्र पूरा गरिने प्रतिबद्धता जनाइसकेको छ । हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चैतभित्रै शैक्षिक सत्र पूरा गरिने घोषणा गरिसक्नुभएको छ ।

अबको सात महिनाभित्र शैक्षिक सत्र पूरा गर्ने सरकारी योजना छ । यस बीचमा सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गर्नुका साथै पाठ्यवस्तु समायोजन ढाँचा–२०७७ स्वीकृत गरिसकेको छ । पाठ्यवस्तु समायोजन ढाँचाका आधारमा विद्यार्थीको सिकाइ सहजीकरण हुनेछ । सात महिनामा पाठ्यपुस्तकमा भएका सबै सामग्री पढाउन नसकिने तर न्यूूनतम सिकाइ बिना विद्यार्थीलाई कक्षा चढाउन नमिल्ने अवस्थाका कारण पाठ्यवस्तु समायोजन ढाँचा तयार पारिएको हो ।

नमुुना विद्यालयको नेतृत्व

वैकल्पिक विधि मूलधारको शिक्षा भएको, भौतिक कक्षा नचलेको तर सात महिनामा शैक्षिक सत्र पूरा गर्नुपर्ने अवस्थामा सरकारले घोषणा गरेका नमुना विद्यालयले नेतृत्वको काम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतम असामान्य अवस्थामा नमुना विद्यालयले अरू विद्यालयलाई समेत प्रेरणादायी हुने खालको शैक्षिक गतिविधि सञ्चालन गर्न सक्नुपर्ने बताउनुहुन्छ । सरकारले हालसम्म ४२२ वटा विद्यालयलाई नमुना विद्यालयका रूपमा अगाडि बढाएको छ । सरकारबाट यी विद्यालयले विशेष सुविधा प्राप्त गर्छन् ।

अनुमति दिए लगत्तै परीक्षा

यसैबीच राष्ट्रिय परीक्षा बोर्डले सरकारले अनुमति दिए लगत्तै कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गरिने जनाएको छ । परीक्षाका विभिन्न मोडल प्रस्तुत गरी स्वीकृतिका लागि पठाइएको र स्वीकृति दिए लगत्तै परीक्षा गर्ने तयारीमा आफूहरू रहेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

सरकारले अनुमतिपछि बोर्ड बैठकबाट निर्णय गरेर अघि बढ्ने उहाँले बताउनुभयो ।

कक्षा–११ को पाठ्यपुस्तक छपाइ

यसैबीच कक्षा–११ मा भर्ना हुने नयाँ विद्यार्थीलाई लक्षित गरी जनक शिक्षाले दुईवटा अनिवार्य विषयको पुस्तक छपाइ कार्य सकेको छ । अङ्ग्रेजी र नेपाली विषयको पुस्तक छपाइ गरी बिक्री वितरणसमेत थालिएको जानकारी महाप्रबन्धक तिमिल्सिनाले दिनुभयो ।

त्रिविको निर्णय अर्को साता

यसैबीच त्रिभुवन विश्वविद्यालयले वार्षिक तथा सेमेस्टर माध्यममा अध्ययन गर्ने विद्यार्थीको परीक्षाका बारेमा एक साताभित्र निर्णय गर्ने जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले केही दिनको परिस्थिति हेरेर परीक्षाबारे निर्णय गरिने जानकारी दिनुभयो । पदाधिकारीको बैठकबाट यसको निधो गरिनेछ । वार्षिक तथा सेमेस्टरका विद्यार्थीको परीक्षा हाल सञ्चालन हुन सकेको छैन । सेमेस्टर प्रणालीका बारेमा डिन कार्यालयले तयारी गर्ने स्पष्ट गर्दै उहाँले वार्षिक परीक्षा भने तिहारपछि गर्ने योजना रहेको बताउनुुभयो ।

अर्कोतिर लुम्बिनी बौद्ध विश्वविद्यालयले भने भौतिक तथा अनलाइनबाट स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न वज्राचार्यले चालू परीक्षा सकिए लगत्तै स्नातकोत्तर तहका विभिन्न विषयका परीक्षा सञ्चालनको तयारीमा आफूहरू रहेको जानकारी दिनुभयो । विदेशमै भएका विद्यार्थीलाई पनि अनलाइन माध्यमबाट परीक्षा लिने योजना बनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय