८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

नमस्कार संस्कार र सूर्य नमस्कारको विज्ञान



हिजोआज कोरोना भाइरसको महामारीका कारण विश्वभरि नै नमस्कारको संस्कार विकास भएको छ । केही समयअघिसम्म भेट्नेबित्तिकै अंकमाल गर्ने पश्चिमा मुलुकले पनि एकअर्कालाई अभिवादन गर्नका लागि नमस्कार गर्ने चलन बसाएका छन् ।

समग्रमा भन्दा आजकल अभिवादनको संस्कार सबैतिर परिवर्तन हुँदैछ । हामीले किन र कसरी अभिवादन गर्ने भनेर बच्चाहरूलाई विज्ञानसम्मत रूपमा बताउनु आवश्यक हुन्छ ।

पूर्वीय संस्कार अनुसार जो कोही पूज्य व्यक्तिलाई साष्टांग दण्डवत् गर्ने चलन छ भने अपरिचित व्यक्तिलाई नमस्कार गर्ने गरिन्छ । घरमा जब पाहुना आउँछन्, त्यहाँ केही खानेकुरा वा पेय पदार्थ सबैभन्दा पहिले दिने गरिन्छ ।

परिवारका सदस्यहरूले पनि अतिथिसँगै बसेर खाना खाने गर्छन् । हामी परिवारका सदस्यहरूलाई भन्दा अतिथिलाई विशेष सम्मान गर्ने गर्छाैं । दैनिक खानाको तालिकामा हामी केवल सात्विक र हल्का खाना खान्छौं । भेट्ने र छुट्ने बेलामा नमस्कार अभिवादन गर्ने अभ्यास हाम्रो सनातन समयदेखि चल्दै आएको संस्कार हो ।

अभिवादनले हाम्रो अहंकारलाई नष्ट गर्न सहयोग गर्छ । अभिवादनले नै नम्रताको विकास गर्ने र दिमागलाई शुद्ध बनाउने काम गर्छ । त्यसकारण, पहिलो अभिवादन सकेसम्म आफ्नै तर्फबाट गर्नु उचित हुन्छ । आफूभन्दा बढी उमेरका मान्छेको चरण छुँदा पनि आफ्नो अहंकार नष्ट हुने भएकोले यसलाई समेत प्रभावकारी अभिवादन संस्कारको रूपमा मान्ने गरिएको छ ।

हाम्रो अभिवादन संस्कारकै कुरा गर्ने हो भने साधुहरूको चरणस्पर्शले तीन जन्मको पाप नास हुन्छ भन्ने धार्मिक मान्यता छ । साधुसन्तले जुन त्याग र तपस्याले ज्ञान प्राप्त गर्छन् । त्यो ज्ञान उनीहरू कसैले लिन चाहन्छन् भने खुसीका साथ लिने गर्छन् । जसरी एउटा पसलेले आफ्नो पसलको सामान बिक्री हुँदा खुसी भाव देखाउने गर्छ । त्यसरी नै साधुको ज्ञान प्राप्त गर्दा पनि त्यसले हाम्रो आत्मिक शान्तिमा महत्वपूर्ण भूमिका खेल्छ ।

सूर्य नमस्कार र पूजा किन गर्ने ?

सूर्य नमस्कार योग र प्राकृतिक रोगसँग पनि सम्बन्धित विषय हो । योगमा पनि सूर्य नमस्कारको एउटा आसन हुने गर्छ । सूर्यको ताप र प्रकाशले नै सम्पूर्ण जीवको अस्तित्व छ । यसको असन्तुलनले विभिन्न स्वास्थ्य समस्या निम्त्याउँछ ।

सूर्य नमस्कारका विधिहरूमा मुख्यतया हस्तपादासन, प्रसरणासन, द्विपाद प्रसरणासन, भू–धरासन, अष्टांग, प्रविधातासन तथा सर्पासन आदि रहेका छन् । यी आसनहरूको प्रक्रियासँगै अनुलोम–विलोम क्रमशः गर्ने गरिन्छ ।

कुष्ठरोग, आँखाका रोगीहरू आदिलाई सूर्य नमस्कार या सूर्य पूजाले राहत दिन्छ भन्ने धार्मिक विश्वास छ । कुनै पनि व्यक्तिमा सूर्यको अशुभ प्रभाव परेको बेलामा विभिन्न किसिमका स्वास्थ्य समस्याहरू निम्तिने ज्योतिष शास्त्रमा उल्लेख छ । ज्योतिषहरूका अनुसार सूर्य सबै ग्रह र नक्षत्रहरूको संस्थापक हो र समयको नियन्त्रक पनि हो ।

भनिन्छ, अरूलाई नमस्कार गरे पनि नगरे पनि शारीरिक स्वास्थ्यको लागि हरेक दिन बिहान सूर्य नमस्कार गर्नु अनिवार्य रहेको योग शास्त्रमा उल्लेख छ । किनकि सूर्य नमस्कार आफैँमा एउटा साष्टांग नमस्कार हो । यसले मानव स्वस्थलाई भव्य, शक्तिशाली, कुशल, जीवनको पूर्ण र शानदार व्यक्तित्वको पहिचान दिन सक्छ । यसबाट मान्छे निरोगी, वैभवशाली, सामथ्र्यवान, कार्यक्षमतावान, दीर्घायु हुन्छ र व्यक्तित्व प्रतिभाशाली हुने गर्छ ।

अर्घ मन्त्र

सूर्यलाई निम्नलिखित मन्त्रद्वारा अर्घ प्रदान गर्नुपर्छ ।

ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते ।

अनुकम्पय मां भक्त्या गृहणाध्र्य दिवाकरः ।।

ॐ सूर्याय नमः, ॐ आदित्याय नमः, ॐ नमो भास्कराय नमः ।

अघ्र्य समर्पयामि ।।

ध्यान मन्त्र

ध्येय सदा सविष्तृ मण्डल मध्यवर्ती ।

नारायणः सर सिंजासन सन्निविष्ठः ।।

केयूरवान्मकर कुण्डलवान किरीटी ।

हारी हिरण्यमय वपुधृत शंख चक्र ।।

जपाकुसुम संकाशं काश्यपेयं महाधुतिम् ।

तमोहरि सर्वपापध्नं प्रणतोऽस्मि दिवाकरम् ।।


प्रतिक्रिया दिनुहोस !