१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

‘चिनियाँ साम्राज्यवाद मुर्दावाद’ भन्दै चिनियाँ दुताबास अगाडी प्रदर्शन



काठमाडौँ – नेपाली भूमि अतिक्रमण गरेको भन्दै युवाहरुले काठमाडौँमा चीनविरुद्ध प्रदर्शन गरेका छन्। बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि युवाहरुले चीनविरुद्ध प्रदर्शन गरेका हुन्।

उनीहरुले सीमा अतिक्रमण बन्द गर, मिचिएको नेपाली भूमि फिर्ता गर, चिनियाँ साम्राज्यवाद मुर्दावाद, सीमा नाका खुला गर’ लगायतका प्ले कार्ड बोकेका छन्।

युवाहरु प्रदर्शनमा उत्रेपछि चिनियाँ दूतावास रहेको क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। हालै चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरी भवन निर्माण गरेको खबर सार्वजनिक भएको छ ।

तर चीनले भने उक्त क्षेत्र नेपालको नभई चीनकै रहेको दाबी गरेको छ। हुम्लाको सीमा क्षेत्रस्थित नेपाली भूमिमा भवन निमार्ण गरेको सार्वजनिक भएपछि चीनले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको छ।

काठमाडौँस्थित चिनियाँ दूतावासले मंगलबार राति विज्ञप्ति जारी गर्दै नयाँ भवन बनाइएको क्षेत्र चीनकै भूमि रहेको दाबी गरेको छ। चिनियाँ दूतावासका प्रवक्ता वाङ सीयओलङले चीन–नेपाल सीमा क्षेत्रमा बनेको भवन चीनकै भूभागमा रहेको प्रमाणित रहेको दाबी गरेका छन्।

नेपालले त्यसबारे थप प्रमाणिकरण गर्न सक्ने पनि उनले उल्लेख गरेका छन्। चीनले नेपाली भूमि मिचेर भवन निर्माण गरेको खुलेपछि त्यसको स्थलगत निरीक्षण गर्न हुम्लाका प्रमख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारीहरुका टोली त्यस क्षेत्रमा छ।

उक्त टोलीसँगको भेटमा पनि चिनियाँ पक्षले भवन निर्माण भएको क्षेत्र चीनकै रहेको जिकिर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !