८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

बिधुतको समस्या तत्काल समाधान गर्न उर्जामन्त्रिको निर्देशन



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै सो पदमा पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा गएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहितका उपकार्यकारी निर्देशकलाई मन्त्रालयमा बोलाएर दिएको निर्देशनको क्रममा उक्त जानकारी दिनुभएको ऊर्जा मन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले प्राधिकरणमा निवर्तमान कार्यकारी निर्देशकसँगै बसेर राम्रो काम गरेको टिममाथि नै प्रश्न उठाएकाले ती प्रश्नका जवाफ कामबाटै दिन वर्तमान नेतृत्वलाई आग्रह गर्नुभयो ।

मन्त्री पुनले आफूले कुलमान घिसिङलाई पुनः कार्यकारी निर्देशक नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको र त्यसबारे छलफल भइरहेको भन्दै मूल नेतृत्व नभएको महसुस नहुनेगरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । जति दिन निमित्त कार्यकारीका रूपमा रहनुहुन्छ, म निमित्त हुँ भन्ने सोच नराख्नुस् । तपाईं अर्को व्यवस्था नहुन्जेलसम्मका लागि पूर्ण अधिकारसहितको कार्यकारी हुनुहुन्छ, मन्त्री पुनले कोइरालालाई भन्नुभयो ।

उहाँले केही दिनयता विद्युत् वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभयो । मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या आए तत्काल आफूलाई जानकारी दिन पनि निर्देशन दिनुभयो ।

उहाँले कोभिड–१९ का कारण विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइन कक्षामार्फत भइरहेकाले पनि विद्युत् अनियमित हुँदा विद्यार्थीको पढाइमा थप प्रतिकूल असर पर्न सक्नेतर्फ गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो ।
मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नियमित विद्युत् पाइरहेका जनता समस्यामा पर्दा शङ्काको आँखाले हेर्नु स्वाभाविक भएको बताउनुभयो । उहाँले प्राधिकरणका समस्या समाधान गरी जनतालाई नियमित विद्युत् उपलब्ध गराउने काममा मन्त्रालय सधैँ गम्भीर रहेको स्पष्ट गर्नुभयो ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव प्रवीणराज अर्यालले विद्युत् प्रणालीमा आएका समस्याबारे समयमै सही सूचना नपाउँदा कतिपय अवस्थामा जनतामा भ्रम पर्न गएको भन्दै सूचना सम्प्रेषणमा ध्यान दिन सुझाव दिनुभयो ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाले खराब मौसमका कारण समस्या आएको भन्दै मौसममा सुधार आएसँगै धेरै हदसम्म समस्या आफैँ समाधान भएर जाने जानकारी दिनुभयो । प्राधिकरणका कर्मचारीले रातदिन नभनी समस्या हटाउँदै विद्युत् सुचारु गरिरहेको उहाँको भनाइ थियो । ललितपुरको खोकना र काठमाडौँ ग्रान्डी अस्पताल क्षेत्रमा हाम्रा कर्मचारीले रातभरि काम गरेर अवरुद्ध विद्युत् सुचारु गराएको, तौलिहवामा विद्युत् सुचारु गराएर फर्कंदा वितरण केन्द्रका प्रमुखसहित चार कर्मचारी र दुई सर्वसाधारणलाई गाडीसहित खोलाले बगाउनेसम्मको दुःखद घटना भएको जानकारी दिनुभयो ।

प्राधिकरणका वितरण निर्देशनालय प्रमुख हरराज न्यौपाने र प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक व्रजभूषण चौधरीले लगातारको वर्षा, बाढीपहिरो, चट्याङ, रुख ढल्नेजस्ता कारणले केही दिनयता प्रणालीमा समस्या आएको जानकारी गराउनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस !