४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

पर्यटन मन्त्रालयले पर्यटन प्रवर्धनका लागि हप्तामा दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्ने



काठमाडौँ । पर्यटन प्रवद्र्धनका लागि हप्तामा दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस्तो प्रस्ताव लैजाने तयारी गरेको हो ।

मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बिहीबार मन्त्रालयमा बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय गरेको हो ।

त्यसका लागि पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य रहने गरी समितिसमेत गठन गरिएको छ ।

उक्त समितिमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिलाई समेत सामेल गरेर अध्ययन प्रस्ताव तयार गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । बिहीबारको बैठकले पशुपति र लुम्बिनी सङ्ग्रहालय खोल्ने सम्बन्धमा प्रोटोकल तयार गरी कोरोना सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा पेस गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै बङ्गलादेश, इन्डोनेसिया, रुस, कोरिया, फिनल्यान्डसँगको हवाई सम्झौता असोजभित्र मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय पनि बैठकले गरेको छ । यसै हप्ताभित्र हवाई इन्धन मूल्य पुनरवलोकन तथा हवाई भाडा सम्बन्धमा ठोस प्रस्ताव तयार गरी मन्त्रालयमा पेस गर्न हवाई महाशाखा र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बैठकले निर्देशन दिएको छ ।

त्यस्तै पर्यटन क्षेत्रको पुनरुत्थान कार्यक्रम प्रभावकारी बनाउन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्ड मिलेर संयुक्त रूपमा कार्यक्रम बनाएर आउँदो बैठकमा पेस गर्ने निर्णयसमेत भएको छ ।

बैठकमा मन्त्री भट्टराईले राष्ट्रिय गौरवका आयोजनाको कामलाई प्रभावकारी बनाउन मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण अनुगमन, मूल्याङ्कन, निरीक्षण गर्नसमेत सम्बन्धित महाशाखा प्रमुखलाई निर्देशन दिनुभयो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय