४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहले खोल्न थालेका विद्यालय



काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहले विद्यालय खोल्न थालेका छन् । कोरोनाका कारण करिब छ महिनादेखि बन्द रहेका विद्यालय नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षा अपनाएर खुल्न थालेका हुन् ।

पाँचखाल नगरपालिकाले सोमबारबाटै विद्यालय सञ्चालनमा ल्याएको छ । त्यस्तै, तेमाल गाउँपालिकाले मङ्गलबारबाट विद्यालय खुलेको जनाएको छ । बेथानचोक गाउँपालिकाले सरकारले तोकेको स्वास्थ्य सुरक्षा अपनाएर पठनपाठन सुरु गर्न वडालाई जिम्मा दिएको छ । अन्य स्थानीय तहका सहरी क्षेत्रका विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका छन् भने ग्रामीण भेगका सामुदायिक विद्यालयले रेडियो कक्षा, प्रत्यक्ष सिकाइ सहजीकरण गरिरहेको जनाएका छन् ।

पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले अभिभावक, विद्यालय व्यवस्थापन समिति र सरोकारवालासँगको छलफलपछि विद्यालयमा पठनपाठन सुरु गरिएको जानकारी दिनुभयो । नगरपालिकामा ३९ सामुदायिक र ११ निजी विद्यालय सञ्चालनमा छन् । सामाजिक दूरी कायम गर्न नगरले कक्षा सञ्चालनका लागि जोर–बिजोर प्रणाली लागू गरेको नगरप्रमुख खरेलले जानकारी दिनुभयो । नगरले सबै विद्यार्थीका लागि माक्स वितरण गरेको छ भने साबुन खरिद गर्न विद्यालयलाई अनुदान दिएको छ ।

तेमाल गाउँपालिका अध्यक्ष सलामसिंह तामाङले ४१ वटै विद्यालयमा पठनपाठन सुरु भएको जानकारी दिनुभयो । बढी विद्यार्थी भएका विद्यालयमा जोर–बिजोर प्रणालीमा सञ्चालन गरिएको छ । गाउँपालिकाले विद्यार्थी, शिक्षकलाई माक्स, स्यानिटाइजर दिएको छ । तेमाल गाउँपालिकाले हप्ताको एकदिन विद्यार्थी स्वास्थ्य परीक्षण प्रत्येक स्वास्थ्य चौकीमार्फत गर्ने निर्णयसमेत गरेको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

नमोबुद्ध नगरपालिकाका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले विद्यालय सञ्चालनका लागि छलफलमा जुटेको बताउनुभयो । हामीले विद्यालय नै सञ्चालन गरेका छैनौँ । छिट्टै शिक्षक, अभिभावकसँगको छलफल गरेर निर्णय गर्ने छौँ । रोसी गाउँपालिकाका अध्यक्ष डीबी लामाले गाउँपालिकाभित्र रहेका ७२ वटै विद्यालयमा माक्स, स्यानिटाइजर वितरण सकेको बताउनुभयो । उहाँले नियमित कक्षा सञ्चालनका लागि छलफल भइरहेको बताउनुभयो ।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले असोज १२ देखि विद्यालयबाटै पठनपाठन सुरु गरिने जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थी भर्ना, पुस्तक वितरणलगायतका काम विद्यालयबाट भइरहेका छन् ।

बेथानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले वडा÷वडालाई नै विद्यालय सञ्चालन गर्न जिम्मेवारी दिएको बताउनुभयो । गत आइतबारबाट नै विद्यालय सञ्चालन गर्ने गरी वडामै जिम्मेवारी दिएका छौँ । त्यहीअनुसार अधिकांश विद्यालय सञ्चालनमा आएको र केही सञ्चालनमा आउने तयारीमा रहेको जानकारी पाएका छौँ, उहाँले भन्नुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भदौ १८ गते विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरेको थियो । शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेका प्रमुख गोकर्णध्वज कार्कीले स्थानीय तहले निर्देशिकाको व्यवस्थाबमोजिम त्यहाँको अवस्था हेरेर कक्षा सञ्चालन गरिरहेको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय