spot_img
Tuesday, April 20, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

पूर्व कामु रक्षासचिवको अनुभव- कोरोनालाई हल्का रुपमा लिँदै नलिऔँ, मैले दुई हप्ता कहिल्यै नपाएको दुख पाएँ

spot_img
spot_img

देशसंचारबाट साभार गरिएको

म गत दुई साताभन्दा लामो समयदेखि कोरोना भाइरस संक्रमणले थलिएर घरमै आइसोलेसनमा बसिरहेको छु। एकदुई दिनयता केही आराम महसुस गरेको छु। ज्वरो आउन छाडेको छ। पहिला त ६/६ घन्टामा सिटामोल खाँदा पनि ज्वरो एकैछिनमात्र ओर्लने, फेरि च्यापिहाल्ने।

पछिल्लो दुई साता मैले कोरोना संक्रमणबाट जति दुख पाएँ, त्यो म शब्दमा बयान गर्न सक्दिनँ।

जीउ दुख्ने, ज्वरो १०३ डिग्रीसम्म आउने, खान केही मन नलाग्ने, स्वाद हराउने, एकदमै तीतो आउने हुन्थ्यो। घरमै आराम गरिरहे पनि एक दिन अक्सिजन लेभल नै घटेपछि ह्याम्स अस्पतालमा उपचार गर्न गएँ। त्यहाँ एक्सरे, ब्लड टेस्ट गराएँ। २४ घन्टा बसेपछि बस्नै नसकेपछि अनुरोध गरेर घरमै फर्केँ।

मेरी ९० वर्षकी आमा, प्यांक्रियाजको क्यान्सर भएकी मेरी श्रीमती र सहयोगीसहित हामी चार जनालाई एकैपटक कोरोनाले ढलायो। घरका सबैलाई कोरोनाले ढलाउँदा खाने/भाडा सफा गर्ने एकदमै समस्या हुने रहेछ। सुरुमा १/२ दिन त मैले नै पकाएर सबैलाई ख्वाएँ। त्यसपछि सकिनँ। मेरी श्रीमतीले दुखसुख पकाइन्। छरछिमेक र आफन्तहरुले खानाहरु बनाएर घरको गेटमा ल्याएर छाडिदिन्थे। छरछिमेक र आफन्तहरुले कोरोनाको अप्ठेरोमा धेरै सहयोग गरे।

मेरो सबैसँग अनुरोध छ, कोरोना भाइरसलाई हल्का रुपमा लिँदै नलिऔँ। मैले जीवनकालमा नपाएको दुख यही दुई हप्तामा पाएँ।

लक्षण नदेखिएकालाई ठीकै छ। उसले कतै केही गर्नु परेन। आफैँ पच्छ, सकिन्छ। लक्षण देखिएपछि भने उपचार प्रक्रिया सुरु गरिहाल्नुपर्छ। मलाई मेरा सहृदयी चिकित्सकहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउन विभिन्न औषधि लेखिदिएका थिए। मगाएर खाएँ।

तर, दुई साता धेरै च्याप्यो। ज्वरो पनि आयो। खोकी पनि लाग्यो। जीउ पनि दुख्यो। टाउको पनि दुख्यो। माछामासु नखाने सात्त्विक वृत्तिको मानिस हुँ म। तर, खानापिना केही पनि खान मन नलाग्दा झनै सताएको अनुभव गरेको छु। मेरी बिरामी श्रीमती र ९० वर्षकी बुढी आमालाई भन्दा मलाई कोरोनाले अचाक्ली दुख दिएको कारण मेरो सात्त्विक वृत्ति पनि हो कि भन्ने मैले महसुस गरेको छु। उनीहरु अण्डा खान्थे, म खाँदिनथिएँ।

फोन गर्नेहरु सोध्थे- तपाईँ केही पनि नखाने, सात्त्विक वृत्ति भएको मानिसलाई कसरी यस्तो भयो? हुन पनि म योगध्यान र प्राणायाम पनि नियमित गर्थेँ। सात्त्विक वृत्तिमा बस्थेँ। बाहिरफेरो खासै निस्कन्न थिएँ।

जम्मा म बाहिर निस्कने भने दूध र सब्जी किन्नमात्र हो। कहिलेकाहिँ एटीएम बुथसम्म निस्कन्थेँ। जहाँ गए पनि पञ्जा, मास्क, स्यानिटाइजरसहित नै निस्कन्थेँ। मलाई एउटा शंका चाहिँ पैसाबाट सर्‍यो कि भन्ने पनि छ। पैसाबाहेक अरु सबै चिज त मैले डिस्‌इन्फेक्ट गर्थेँ, जहिल्यै बाहिर निस्के पनि।

मेरो अनुभवमा सात्त्विक वृत्ति भएकाहरुको यस्तो बेला रेसिस्टेन्स कम हुने रैछ।

९० वर्षकी आमालाई पनि दस दिन जतिमा ठीक भयो। श्रीमतीलाई पनि ठीक भयो। तर मलाई दुई सातासम्म ढलायो। अहिले पनि मुखमा स्वाद पनि छैन। खाना रुच्दैन।

कोरोनासँग जुध्न मनोबल एकदमै बलियो बनाउनु पर्ने रैछ। तर, त्योभन्दा बढी मलाई केही हुन्न भनेर हेल्चेक्र्याइँ गर्नुहुन्न। म सचेत रहे पनि कोरोना संक्रमण नहुन्जेल मलाई यसले यति धेरै सताउला भन्ने महसुस थिएन।

सपनामा पनि एकदमै तीतो गन्ध आउँथ्यो। यो एउटा डरलाग्दो रोग रहेछ।

कोरोना संक्रमण हुनुभन्दा एक साताअघि मैले कहिल्यै नदेखेको अनौठो सपना देखेको थिएँ।

बेलगाछी मोरङको मेरो गाउँको घरमा अचानक फणा उठाउँदै साप निस्केको थियो। सिलिङका काठबाट धुलिया झरेका थिए। सपना देखेर म छक्क परेको थिएँ। आध्यात्मिक मानिस भएकाले मैले केही अनिष्टको संकेत महसुस गरेको थिएँ।

त्यसको एक हप्तापछि मलाई संक्रमण भयो। मैले अनौठो सपना देखेकै बेला मेरी श्रीमतीले पनि त्यस्तै सपना देखेकी रहिछन्। उनलाई सपनामा सुँगुरले खुट्टामा दाँत गाडेर टोकेको रहेछ। त्यो सपना सुनाउँदै श्रीमती चकित परेकी थिइन्।

सोमबार मेरो घरमा श्राद्ध थियो। श्राद्ध नगर्ने कि भन्ने सोचेको थिएँ। पण्डितजीलाई फोन गरेँ। उहाँले पनि कहिँ गएको छैन भनेपछि संक्षिप्त विधिबाट श्राद्ध गराएँ। त्यही बेलुकादेखि श्रीमतीलाई जीउ दुख्ने, टाउको दुख्ने, ज्वरो आउने हुन थाल्यो। मंगलबार रातिदेखि मलाई पनि जीउ दुख्ने, टाउको दुख्ने हुन थाल्यो। आमालाई पनि गाह्रो हुन थाल्यो। सहयोगीलाई पनि त्यस्तै भयो। जाँच्दा सबैलाई कोरोना भइसकेको रहेछ।

मलाई कोरोना संक्रमणका बेला धेरैले शुभेच्छा दिनुभयो। मदत गर्नुभयो। घरमा खानेकुरा पनि पठाउनु भयो।

परिवारलाई नै कोरोना भएपछि तातोपानी दिने मानिस पनि नहुने रहेछन्। धन्न, मेरा सहृदयीहरुले मलाई मद्दत गरे। अब धेरै कम भइसकेको छ। चाँडै सबैको पुन: परीक्षण गर्नेछौँ।

मेरो सबैलाई अनुरोध छ- कोरोनालाई रुघाखोकीमात्र सम्झने भूल नगरौँ। यो एउटा डरलाग्दो रोग रहेछ। यसमा कत्ति पनि हेल्चेक्र्याइँ नगरौँ। लक्षण देखिनेबित्तिकै जाँच गरेर सुरक्षित रहने उपाय गरिहाल्न पनि मेरो अनुरोध छ।

(६१ वर्षीय पूर्व कामु रक्षासचिव सिटौलासँग कुराकानीमा आधारित)

spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

%d bloggers like this: