१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

गृहमन्त्री राम बहादुर थापा ‘बादल’ कालापानी क्षेत्रको भ्रमणमा



दार्चुला | गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को शुक्रवार रात्री बास कालापानी मुनिकै छाङरु गाउँमा हुने भएको छ। सशस्त्र प्रहरी गुल्मको शिलन्यासका लागि अपरान्ह्र यहाँ आएका थापा राति छाङरुस्थित सशस्त्रकै पाहुना बन्ने भएका हुन्।

दार्चुलाको ब्यास गाउँपालिकामा पर्ने छाङरु कालापानीको सबैभन्दा नजिकको गाउँ हो। यो भारतद्धारा अतिक्रमित भूमि कालापानीबाट १४ किलोमिटर तल छ। छाङरुको गागाबगरमा अहिले बोर्डर आउट पोष्ट (बीओपी) को अस्थायी संरचना छ। सरकारले बीओपीलाई स्तरोन्नती गरी गुल्म स्थापना गरेको छ र त्यसको स्थायी संरचना निर्माणका लागि गृहमन्त्री थापाले शुक्रवारै भवन शिलन्यास पनि गरेका छन्।

गृहमन्त्री थापा काठमाडांैबाट सुर्खेतसम्म नेपाली सेनाको स्काइ ट्रकमा आएका थिए। सुर्खेतबाट सेनाको हेलिकप्टरमा छाङरु पुगेका थिए। पाहुनाहरुलाई छाडेर हेलिकप्टर अहिले सदरमुकाम खलंगा झरेको सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बमले बताए। छाङरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना भएसँगै बहुउद्देश्यिय भवन निर्माण गर्न लागिएको छ। त्यसैको शिलन्यास पछि गृहमन्त्री थापाले रात्रिबास कालापानी मुनिको छाङरुमै बिताउने निर्णय गरेका थिए।

गृहमन्त्री थापाले गुल्मको शिलन्याससँगै सो क्षेत्रको अनुगमन समेत गरे। शनिवार बिहान उनले सशस्त्र प्रहरीको कवाजलगायत कार्यक्रम हेर्ने तालिका छ। गृहमन्त्री थापासँगै गृह सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी बलका आइजीपि शैलेन्द्र खनाल लगायत ११ जना छाङरुमै छन्।

गत असार २९ गते बसेको मन्त्रिपरिषद बैठकले सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टरलाई व्यास गाउँपालिका १ छाङरुस्थित गागामा सार्ने निर्णय गरेको हो। डिएसपिको कमाण्डमा रहेको गुल्ममा एकसय ६० जनाको टोली परिचालन गरिएको छ। गागाक्षेत्र कालापानीबाट १२ किलोमिटर वरै पर्छ ।


प्रतिक्रिया दिनुहोस !