१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

कोरोना संक्रमितको सम्पर्कमा नआएकाको कोरोना परीक्षण नगरिने



काठमाडौँ | अब कोरोना भाइरस (कोभिड १९)को संक्रमितको सम्पर्कमा नआएका र लक्षण नभएका व्‍यक्तिको कोरोना परीक्षण नगरिने भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पत्रकार सम्‍मलेनमा बोल्‍दै कोरोना संक्रमितको सम्पर्कमा पनि नआएको र कुनै पनि लक्षण नभएका व्यक्तिहरु पीसीआर गर्न आएको हुँदा यस्तो निर्णय गरिएको बताए।

उनले भने, ‘कोरोनाका लक्षण भएका सबै व्यक्तिहरुमा पखाला, ज्वरो, सुख्खा खोकी, श्वासप्रश्‍वासमा समस्या, स्वाद र गन्ध थाहा नपाउने व्यक्तिको पीसीआर परीक्षण हुनेछ। तर सम्पर्कमा नआएको र लक्षण नभएका व्‍यक्तिको कोरोना परीक्षण गरिने छैन।’

कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिले पाँच दिनपछि कोरोना परीक्षण गर्न सकिने उनको भनाइ छ।

यद्यपि,आकस्मिक श्वासप्रश्वासमा समस्या देखिएका, विदेशबाट फर्किएका पाँचदेखि सात दिनमा (क्वारेन्टिनमा बसेका) फ्रन्टलाइनमा खटिने व्यक्तिहरु, आईसीयूमा राख्‍ने सबै व्यक्तिहरु, दीर्घरोगीहरु, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुको पीसीआर परीक्षण गरिने मन्त्रालयले जनाएको छ।

६० वर्ष नाघेका व्यक्तिहरु, चिकित्सकीय सल्लाह अनुसार शल्यक्रिया गर्नुपर्ने व्यक्तिहरु भए तर पीसीआर नतिजा आएको छैन भनेर रोक्न नपाइने प्रवक्ता डा. गौतमले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !