११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

दशैं आयो, न यात्रु, न बुकिङ, न व्यवसाय



काठमाडौं । अघिल्लो बर्ष भदौ महिनादेखिनै यातायात व्यवसायी प्रकाश दाहाल निक्कै व्यस्त हुन्थे । उनको कम्पनीमा रहेका २० वटा गाडीसँगै उनले स्थानीय गाडीहरुको समेत व्यवस्थापन गरेर काठमाडौंबाट दैनिक रुपमा तराइका विभिन्न जिल्लाहरुमा सवारी साधनको व्यवस्थापन गर्थे । अरु समयमा भन्दा दसैमा अत्यधिक माग रहेकोले दसैमा उहाँको परिवाका अरु सदस्यसमेत टिकट काट्ने काममा सहयोग गर्थे ।

काठमाडौं, भक्तपुरमा समेत उहाँहरुको टिकट काउन्टर थियो । बनेपामा रहेको टिकट काउन्टरमा समेत निक्कै भीडभाड हुन्थ्यो । तर यो बर्ष त्यस्तो छैन । उहाँहरुको काठमाडौ, भक्तपुर र बनेपामा रहेको टिकट काउन्टरबाट एउटा पनि टिकट काटिएको छैन । अघिल्लो बर्षसम्म अग्रिम टिकटको लागि भिडभाड हुने काउन्टरहरु खाली छन् ।
उहाँले आफ्नो लामो दुरीमा चल्ने २० वटा गाडी पार्किङमा राख्नुभएको महिनौ भैसक्यो । लकडाउन खुलेपछि गाडीहरु संचालन हुने आशामा रहनुभएका उहाँले एउटा बस पनि संचालन गर्न सक्नु भएको छैन ।

नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आफूहरुले यो दसैको लागि अग्रिम टिकटको बारेमा अहिलेनै नसोचेको बताउनुभएको छ । ‘बसहरु खालि दौडन बाँध्य छन् यो बर्ष अग्रिम टिकट काट्नैपर्दैन होला’ कर्माचार्यले भन्नुभयो ।

‘ अहिले काठमाडौं उपत्यका छाडेर जाने बसहरुमा यात्रुहरु नभएकाले अहिलेनै अग्रिम टिकटको बारेमा महासंघले निर्णय गरेको छैन’अध्यक्ष कर्माचार्यले भन्नुभयो ।

‘उपत्यका बाहिर जाने अधिकाशं गाडीहरुमा यात्रुनै छैनन्’ कर्माचार्यले भन्नुभयो । अधिकाशं गाडीहरुले तेल समेत हाल्न सक्ने अवस्था छैन भनेर जानकारी गराउनुभएको छ । उहाँले एक सातासम्म कस्तो अवस्था रहन्छ हेरेपछि मात्रै अग्रिम टिकटको बारेमा निर्णय गर्ने बताउनुभयो ।

अहिले काठमाडौमा रहेका मान्छे जिल्ला जिल्लामा रहेकाले अघिल्लो बर्षहरुमा जस्तो अग्रिम टिकट काट्नुपर्ने अवस्था आइ नहाल्न पनि सक्छ उहाँले भन्नुभयो । अघिल्लो बर्षहरुमा काठमाडौ छाडेर २० लाखभन्दा धेरै मान्छे बाहिर जाने गरेकोमा यो बर्ष राजधानीमा मान्छेनै नभएकाले अग्रिम टिकटको संम्भावना निक्कै न्यून रहेको उहाँले बताउनुभयो ।

उहाँले यो बर्ष दसै तिहार पनि सावधानी अपनाएर मनाउने भएकाले दसै तिहारको अग्रिम बुकिङ टिकट काट्नु नपर्ने उहाँ बताउनुहुन्छ । अहिले १० जना यात्रु बोकेर कंचनपुरसम्म जानुपर्ने बाँध्यता व्यवसायीसँग भएको कर्माचार्य भन्नुहुन्छ ।

काठमाडौबाट बाहिर जाने मात्रै हैनन काठमाडौ भित्रने गाडीमा समेत यात्रु छैनन् । राजधानीसँग जोडिएका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, धादिङसम्म चल्ने छोटो रुटमा समेत यात्रुहरु नभएको व्यवसायी बताउनुहुन्छ ।

अरनिको यातायात सेवा प्रालीका अध्यक्ष चित्र कुँवरले छोटा तथा लामो दुरीका रुटमा असाँध्यै कम यात्रु भएको बताउनुभयो । सरकारले तोकेको भन्दा पनि कम भाडा दरमा यात्रुहरु बोक्दा समेत यात्रुहरु नआएको उहाँले गुनासो गर्नुभयो ।

नेपालमा करिब तीन लाख ५० हजार सार्वजनिक यातायातहरु संचालनमा छन् । त्योमध्ये एक लाखभन्दा धेरै लामो दुरीका सवारी साधनहरु संचालनमा रहेको महासंघका उपमहासचिव रवि रिमाल बताउनुहुन्छ । एक लाखभन्दा धेरै लामो रुटका सवारी साधनमध्ये अधिकाशं संचालनमा आउन नसकेकको उहाँले बताउनुभयो ।

सरकारले ५० प्रतिशत भाडा बृद्धि गरेर जनता मारमा परेको र भोलि यात्रु हुँदा समेत बसहरु संचालन गर्न सक्ने अवस्था नहुने उहाँले बताउनुभयो । अहिले लामो दुरीका सार्वजनिक बसहरुले चालक तथा सहचालकहरुले खानाको व्यवस्था मात्रै गर्न सकेको र तेल समेत व्यवसायीहरुले आफैले हालिदिनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

अघिल्लो दसैमा उपत्यकावाट सार्वजनिक यातायात चढेर १५ देखि २० लाखभन्दा धेरै यात्रुहरु बाहिरिने गरेको र यो बर्ष अग्रिम टिकटको बारेमा महासंघले कुनै निर्णय नगरको उहाँले स्पष्ट पार्नुभयो । यो बर्ष सार्वजनिक यातायातको प्रयोग होला जस्तो लाग्दैन उहाँले भन्नुभयो ।- गोरखापत्र अनलाइनबाट


प्रतिक्रिया दिनुहोस !