१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

ब्लड क्यान्सर भएर अस्पताल भर्ना भएका दिपेन्द्रलाई आर्थिक अभाव



दार्चुला | लेकम गाउँपालिका ४ टक्नाका ५९ वर्षीया सुन्नरी पाल झण्डै २० वर्षदेखि दमको विरामीले च्यापेको छ । नेपाल भारतका प्रतिष्ठित अस्पतालमा उपचार गराउँदा पनि दमको विरामी देखिएका पाल निको हुन सकेनन् । उपचार गराउँदा गराउँदै घरको जायजेथा सक्नै लागेका पाल परिवारले दुई वर्षदेखि उहाँको थप चेकजाँच गर्न सकेका छैनन् ।

आमाको उपचार गराउन नसकिरहेकै बेला यसै वर्ष उहाँका २४ वर्षीय छोरा दिपेन्द्र पालमा ब्लड क्यान्सर देखिएपछि अहिले घरमा आमाको बिच्चली छ । आफ्नो विराम भन्दा पनि छोरा विरामी भएको पीरले अहिले आमा निकै सुस्त बनेका छन्, उहाँका छोरी जानकी पालले भन्नुभयो । घरमा आमाको स्याहाँर गर्ने कि दाईको उपचारका लागि आर्थिक सहयोग जुटाएर उपचार गराउने ? एकातिर घरको कामकाज गर्नुपर्ने छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय महेन्द्रनगरमा व्यवस्थापन संकाय चौथो वर्षमा पढ्दै आएका पाललाई एकाएक ब्लड क्यान्सर भएको हो । छोराकै पिरले अहिले आमा भक्कानी गर्नुभएको छ, जानकीले सुनाउनुभयो । घरमा आमा सम्हाल्नै नसकिने अवस्था पुगेको छ । बुवा बृद्ध भइसक्नुभयो ।

२ छोरा र ५ छोरी मध्ये कमाई गर्ने दाई मिन बहादुर पाल मात्रै छन् । उहाँ नेपाल प्रहरीमा जागिरे हुन् । बुवा लक्ष्मणबहादुर पाल ६४ वर्षको हुनुभयो । बुवा हुलाकमा जागिर गर्नुहुन्थ्यो, पोष्टमेनको । तर ०६८ सालमै पेन्सिन भएर घरमा छन् । उहाँको आम्दानीले घर खर्च चलाउने कि आफु र दार्ईको पढाइ खर्च, आमाको उपचार खर्च गराउँदा गराउँदै सकियो ।

अहिले दाई दिपेन्द्रको उपचारको लागि गाउँबाट साढे चार लाख रुपैयाँ ऋण काढेर पठायौ । प्रहरीमा कार्यरत दाई मिनबहादुर पाल पनि एक वर्ष अघि पेटमा समस्या भएपछि आफ्नो जागिरको सञ्चय कोष निकालेर उपचार गराउनुभयो । तीन महिना अस्पतालमै बस्नुभयो । अहिले भाईको उपचारको लागि महेन्द्रनगरबाटै ऋण निकालेर गराई राख्नुभएको छ ।

आमाको उपचार गराउन नेपालका सबै अस्पताल लगियो, कहि पनि निको हुन सकेन् । भारतको दिल्ली र खटिमा अस्पताल लगेर औषधी खादै अहिलेसम्म बचाइएको छ । तर दुई वर्ष भयो, भारतमा उपचार गराउन जान सकिएको छैन् । नेपालमा भएका औषधीले कामै गरेन्, जानकीले भन्नुभयो, खटिमा दिल्ली गएर मेसिनमार्फत औषधी दिदा अहिलेसम्म बाँच्नुभएको छ । अहिले दाईको विरामीको कारण आमालाई झन असहज भएको छ ।

घरमा सहारा नभएजस्तै भएको छ । के गर्ने कसो गरौं भन्ने भइरहेको छ, उहाँले सुनाउनुभयो । अहिले विभिन्न व्यक्तिले सहयोग गरेर दिपेन्द्र बचाउँ अभियान चलाएका छौं । रकम संकलन भइरहेको छ । सबैको सहयोग पाए भाई र आमा दुवै बचाउँन सकिन्थ्यो, उहाँले भन्नुभयो ।

जानकी पनि कृषिमै विएससीएजी गरिराख्नुभएको छ । परिवारमा परेको समस्याले आफ्नो पनि पढाईमा डिष्टर्ब हुँदै छ । घरको काम उस्तै छ । छोराको पढाई अब्बल नै थियो । कुनै पनि प्रकारको धु्रमपान मध्यपान थिएन् । तर पनि एकाएक पेटमा विरामी भयो भनेर चेकजाँच गराउँदा ब्लड क्यान्सर देखिएपछि छांगाबाटै खसेझै परिवार भएको छ । अझै पनि सहयोगको लागि अपिल गर्छौ, जानकीले सुनाउनुभयो ।

आर्थिक सहयोग संकलन हुँदै, सहयोग गर्न परिवारको आग्रह

दार्चुलाका २४ वर्षीय एक युवकलाई ब्लड क्यान्सर भएपछि अहिले आर्थिक सहयोग अभियान सञ्चलान गरिएको छ । लेकम गाउँपालिका वडा नम्बर ४ मकन्नाका २४ वर्षीय दिपेन्द्र पाललाई ब्लड क्यान्सर भएपछि उहाँको उपचारमा समस्या भएको छ । उहाँको ब्लडक्यान्सर भएपछि अहिले काठमाण्डौंमा उपचार भइरहेको छ ।

अहिले स्थानीयले ब्लड क्यासन्र पीडित दिपेन्द्र पाल बचाउ अभियान, हामी सबैको अभियान नारा दिएर सहयोग संकलन गरिरहेका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा व्यवस्थापन संकाय चौथो वर्षमा पढ्दै आएका पाललाई स्वास्थ्यमा एकाएक समस्या देखिएको हो ।

उहाँको काठमाडौँको सिभिल अस्पतालमा उपचार भईरहेको छ । उपचारको लागि झण्डै २५ लाख रुपैयाँ रकम लाग्ने भएपछि अहिले आर्थिक सहयोग अभियान चलाइएको पीडितका बहिनी जानकी पालले बताउनुभयो ।

उपचारमा सहयोग पुगोस् भन्नको लागि लेकम गाउँपालिकाले पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । सो रकम बिहीबार उपचारको लागि पठाउने तयारी गरिएको पालले बताउनुभयो । यस्तै दिपेन्द्र पाल बचाउ अभियानले हालसम्म ६ लाख ७३ हजार ७७१ रुपैयाँ सहयोग संकलन गरेको छ ।

बुधबारसम्म विभिन्न क्षेत्रबाट २०१ जनाले आर्थिक सहयोग गरेको परिवारले जनाएको छ ।

यस्तै विभिन्न क्षेत्रमा पाल बचाउ अभियानमार्फत रकम संकलनको काम भइरहेको बताइएको छ । आर्थिक अभाव भएकाले अझै पनि सहयोगका लागि सबैसँग याचना परिवारले गरेको छ ।

उहाँलाई सहयोगको लागि इसेवा ९८६२४२५१३२, अथवा लक्ष्मी बैंक लिमिटेड चौपातामा रहेको जानकी पालको खाता नम्बर ०९०२३००५०१४ मार्फत सहयोग गर्न सकिने जनाइएको छ। यस्तै सहयोग गर्न चाहने व्यक्तिले उहाँको मोवाइल नम्बर ९८६८७२२२०६ मा सम्पर्क गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय