काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले अब प्रधानमन्त्री बन्न नहुने बताएका छन् । सभापति देउवाले आफैंले आफ्ना समकालीन वा नयाँ युवा पुस्तालाई प्रधानमन्त्री बन्न आग्रह गर्नुपर्ने बताएका हुन् । शनिबार पार्टीको लुम्बिनी प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रममा शर्माले सभापति देउवा ५/५ पटक प्रधानमन्त्री बनिसकेकाले अब बन्न नहुने बताएका हुन् ।
लुम्बिनी प्रदेश सम्मेलनमा महामन्त्री शर्मा, गगन थापा र नेता शेखर कोइरालाले बोल्न बाँकी हुँदैमा सभापति देउवाले आफ्नो भनाइ राखेर बाहिरिएका थिए । शर्माले आफ्नो बोल्ने बेलामा सभापति देउवाका लागि भगवान गौतम वुद्धको आशिर्वाद माग्न चाहेको बताए । ‘सभापति गइसक्नुभयो । नभए मैले सबैभन्दा बढी भगवान गौतम वुद्धको आशिर्वाद सभापतिको शीरमा माग्नेवाला थिएँ’, उनले भने, ‘‘भगवान गौतम वुद्धका थुप्रै कुरा छन्, तर एउटै कुरा थप पुगिदिन्छ भन्ने कामना गर्न खोज्दै थिएँ । त्यो भनेको के हो भने भगवान गौतम वुद्धले वुद्धत्व प्राप्त गर्नुभयो, सत्ताको कुर्सीमा एक पटक पनि नबसीकन ।’