काठमाडौं । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा हिमपात र वर्षा भएको छ । दार्चुला, बझाङ, बाजुरालगायतका हिमाली जिल्लाहरुमा हिमपात तथा वर्षा भएको छ । हिमपातका कारण अत्यधिक चिसो बढेको छ । सुर्खेतको वीरेन्द्रनगर र आसपासका क्षेत्रमा गएरातिदेखि आज बिहानसम्म पानी परेको छ । दैलेखमा पनि पानी परेको स्थानीयले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हिमपात र वर्षा हल्का खालको रहेको जनाएको छ । मौसमविदका अनुसार गण्डकी र बागमती प्रदेशमा सामान्य बदलीको अवस्था छ । कोशी प्रदेशको पहाडी भागमा आंशिक बदली छ भने मधेश प्रदेश र कोशी प्रदेशको दक्षिणी भूभागमा मौसम सफा छ । काठमाडौं उपत्यकामा कहिले घाम लाग्ने र कहिले बादल लाग्ने भइरहेको छ । काठमाडौं उपत्यकामा पनि चिसो बढेको छ तर पानी पर्ने सम्भावना भने ‘एकदम कम’ रहेको छ।