७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

दुहुँ, दार्चुलाको गौरबको योजना : बञ्जीजम्प झोलुंगे पूल निर्माणमा ढिलाई



दार्चुला | दार्चुलाको दुहुँ गाउँपालिकाले गाउँपालिकाको गौरबको योजनाको रुपमा निर्माण शुरु गरेको बञ्जीजम्पसहितको बहुउद्देश्यीय झोलुंगे पूल निर्माणको कार्यमा ढिलाई भएको छ । जिल्लाकै सर्वाधिक लम्बाई र उचाईमा निर्माण हुन लागेको पूलको कामले गति लिन सकेको छैन् ।

२०७४ सालबाट निर्माण शुरु भएको पूलले अझै गति लिएको छैन् । दुहुँको वडा नम्बर २ र ५ को सीमा नदी कालागाड खोलामाथि बञ्जिजम्पसहितको बहुउद्देश्यीय झोलुंगे पुल निर्माण शुरु भएको थियो ।

गाउँपालिकाले गौरबकै योजनाको रुपमा यो पूल अघि बढाएको हो, गाउँपालिका अध्यक्ष पूलेन्द्र बहादुर कार्कीले भन्नुभयो, तर पूल निर्माणमा ढिलाई भइरहेको छ । पूल निर्माणको सम्झौता अवधि सकिएपछि अहिले तीन महिना म्याद थप गरि निर्माण कार्य अघि बढेको छ ।  


बर्खायाममा पूल निर्माणको काम अघि बढेन् । सडक अवरुद्ध हुँदा समान ढुवानीमै ढिलाई भएको निर्माण व्यवसायी बसन्त बुढाथोकीले बताउनुभयो । अहिले निर्माण कार्य चलिरहेको छ। निर्धारित समयमै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । 

कोभिडको कारण समयमै समान ढुवानी हुन नसक्दा पूलले गति नलिएको निर्माण व्यवसायीको दाबी छ । पुल निर्माणले पैदल मार्गको दुरी घटाउनुका साथै पर्यटकहरूको आकर्षण गन्तव्य बनाउने लक्ष्य गाउँपालिकाले लिइएको छ ।

गाउँपालिकाका अध्यक्ष कार्कीका अनुसार यसै आर्थिक वर्षभित्र पुलको निर्माण कार्य सकिन्छ । पुलले गाउँपालिकाका वडा नम्बर २ र ५ लाई सीधै जोड्ने छ भने वडा नम्बर ५ का स्थानीयलाई गाउँपालिकाको केन्द्र पुग्न आधा घण्टाभन्दा कम समय लाग्ने छ । 


पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका वडा नम्बर ४, ५, र ३ का स्थानीयलाई आवत जावतमा सहज हुनेछ । गाउँपालिकाको बृहत योजनाको रूपमा यो पुलको निर्माण अघि बढाइएको हो । गाउँपालिकाको पर्यटन प्रवद्र्धनसँगै आर्थिक आर्जनको रूपमा विकास गर्ने लक्ष्यसहित पूल निर्माणमा प्राथमिकता दिएको अध्यक्ष कार्कीले बताउनुभयो । 


दार्चुला तिकर सडक अन्तर्गत पर्ने उक्त क्षेत्र पुग्न सदरमुकाम खलंगाबाट एक घण्टा समय लाग्छ । नजिक क्षेत्र बञ्जीजम्पसहितको झोलुंगे पूल भएको कारण दार्चुलाका मात्र नभएर भारतबाट समेत पर्यटकहरु हेर्न आउन सक्ने छन् । 

सदरमुकामबाट नजिकै रहेको क्षेत्र भएको र सडक सञ्जालमा जोडिएको कारण पनि बञ्जीजम्प खेल्ने पर्यटकहरु यो क्षेत्रमा आकर्षित हुन सक्छन् । गाउँपालिकाले पर्यटकलाई लक्षित गर्दै भ्यू टावर निर्माण गरिरहेको छ । भ्यू टावरबाट विभिन्न हिमालयहरुको अवलोकन गर्न मिल्ने अध्यक्ष कार्कीको भनाई छ । यस्तै दुहुँको नजिकै पर्ने सिद्ध टोपीको अवलोकन गर्न जानेहरुको लागि पनि यो पूल राम्रो हुनेछ ।


हेल्भेटास नेपालको प्राविधिक सहयोग र गाउँपालिकाको लगानीमा निर्माण भइरहेको उक्त बहुउद्देश्यीय झोलुंगे पुलको लम्बाइ ३ सय ७२ मिटर रहेको छ । २ सय ४० मिटरको उचाइमा पुल बन्नेछ । एक करोड ७७ लाख ९९ हजारको लागतमा उक्त पुल जगदम्बा दोभान संगम जेभीले निर्माण गरिरहेको हो । 

पहाडी जिल्लाकै सर्वाधिक उचाई र लम्बाई रहेको पुल निर्माणमा गाउँपालिकाले पनि लगानी गरेको छ । उक्त पुल निर्माणपछि साहसिक मानिएको खेल बञ्जिजम्पको लागिसमेत उपयुक्त सम्भावना रहेको यसअघिको अध्ययनले देखाएको छ । पुल निर्माण हुने स्थानमा निकै कडा खालको चट्टान रहेको तथा गहिरो गल्छी भएका कारण बन्जिजम्पका लागि उपयुक्त मानिएको हेल्भेटास नेपालले जनाएको छ ।- सारथि खबरबाट साभार
 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय