एमालेको मध्यपहाडी संकल्प यात्राको प्रतिरोध गर्ने पहिचानवादीहरुको तयारी

0
4

विराटनगर । नेकपा एमालेले मङ्सिर १४ गतेदेखि सुरु गरेको मध्यपहाडी संकल्प यात्रालाई कोशी प्रदेश प्रवेशमा अवरोध गर्ने पहिचानवादीको तयारीले मुठभेडको सम्भावना बढेको छ । प्रहरी प्रशासनले भने सम्भावित झडपलाई रोक्न भन्दै एकीकृत सुरक्षा योजना लागु गर्ने तयारी गरेको छ । पछिल्लो समय दुवै पक्षले एक अर्कालक्षित आक्रामक अभिव्यक्ति दिँदै आएका छन् । पहिचानवादीले केही दिन अगाडि ओखलढुंगामा आयोजना गरेको सार्वजनिक सभामा बोल्दै नेता गोपाल किराँतीले जबर्जस्ती गरे आफूहरुको लासमाथि टेकेर हिँड्नुपर्ने चेतावनी दिएका थिए ।

एमालेबाट निर्वाचित कोशी प्रदेशसभाका सांसदहरुले प्रदेशसभामा बोल्दै मुलुकका पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्षलाई प्रवेशमै निषेध गर्ने प्रचार दुःखद् र संविधानविरोधी भएको बताएका छन् । पहिचानवादीको यस्तो भनाइ संविधानप्रदत्त अधिकारको उल्लङ्घन भएको एमालेको दाबी छ । कोशी प्रदेशको पुनः नामकरण गर्नुपर्ने भन्दै प्रदेशमा आन्दोलनरत संघ संस्थाहरुले ओलीसहित एमाले नेता योगेश भट्टराई र महेश बस्नेत तथा कोशी नामकरणको पक्षमा मतदान गर्ने ८२ जना प्रदेशसभा सदस्यलाई कोशीका पहाडी जिल्लामा प्रवेश गर्न नदिने चेतावनी दिँदै आएका छन् । एमालेको मेची–महाकाली मध्यपहाडी यात्राको क्रममा ओली र कोशीको पक्षमा मतदान गर्ने सांसदहरु सहभागी भए अवरोध गर्ने उनीहरुको धम्की छ ।

प्रदेश १ पुनः नामकरण संघर्ष समितिका अध्यक्ष डकेन्द्रसिं थेगिमले २६ गतेदेखि उदयपुरको घुर्मीदेखि पाँचथरको चिवाभन्ज्याङ्सम्म अनिश्चितकालीन बन्द आह्वान गरेको जानकारी दिए । ‘हामीले २५ गतेदेखि घुर्मी–चिवाभन्ज्याङ जागरण अभियान कार्यक्रम सञ्चालन गर्दैछौँ । २६ गतेदेखि घुर्मी–चिवाभन्ज्याङ अनिश्चितकालीन बन्द आह्वान गरेका छौँ,’ थेगिमले भने, ‘८२ प्लस ३ लाई हामीले अवरोध गर्ने भनेका छौँ । ८२ जनालाई कुनै पनि हालतमा अवरोध गर्ने हो । तीन जनाले भने माफी मागेको अवस्थामा जान दिन्छौँ ।’

एमालेले मंसिर १४ गते मध्यपहाडी संकल्प यात्रा सुरु गरेको हो । उक्त यात्रा मङ्सिर २६ गते उदयपुरको घुर्मी आइपुग्नेछ । एमालेको उक्त अभियानमा प्रदेशसभाबाट कोशी नामकरणमा हस्ताक्षर गर्ने ८२ सांसद र पहिचानको विरुद्धमा बोल्ने तीन जना एमाले नेताहरु अध्यक्ष ओलीसहित नेता योगेश भट्टराई र महेश बस्नेत पनि सहभागी हुन लागेको कारण अवरोध गर्न लागिएको पहिचानवादीको दाबी छ । दुवै पक्षले एक अर्काप्रति लक्षित गर्दै अभियान चलाएपछि झडप हुने आशङ्का बढेको छ । कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी राजेशनाथ बाँस्तोलाले आफूहरुले जुनसुकै शान्तिपूर्ण कार्यक्रमलाई पूर्ण सुरक्षा दिने बताए ।

प्रहरीले व्यापक रुपमा पहाडतिर फोर्स पठाएको छ । पूर्णरुपमा शान्ति सुरक्षा प्रदान गर्न प्रहरीले प्रयास गर्ने डीआइजी बाँस्तोलाले बताए । उनले भने, ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन हुन्छन् । बाँकी कुरा राजनीतिक पार्टी र राजनीतिक शक्तिहरुबिच सहमति हुने कुरा हो ।’

ad

Leave a Reply