काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षसम्मै न्यून तापक्रम मापन गरिएको छ । बिहान ५ः४५ बजे काठमाडौंमा ५.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । तराईमा हुस्सु र कुहिरोको लागिरहेको छ । विभागका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी पहाडी भू–भागमा आंशिक बदली रही तराई भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहान तराईका भू–भागहरूमा लागेको हुस्सु मध्याह्नसम्म क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना छ । हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले भनेको छ ।