काठमाडौं । रुसी सेनामा भर्ना भएका थप दुई नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा रहेको खुलेको छ । रुसी सेनामा भर्ना भई युक्रेनी सेनाको कब्जामा रहेका काभ्रेका सिद्धार्थ ढकाल र मोरङको लेटाङका विकास राईको भिडियो बाहिर आएको छ । छुट्टाछुट्टै भिडियो सन्देशमा उनीहरुले आफू हालसम्म सुरक्षित भएको बताएका छन् ।
३ मिनेट ३२ सेकेण्ड लामो भिडियो सन्देशमा उनले आफू पैसाका लागि रुसी सेनामा भर्ना भएर धेरै दुःख पाएको बताएका छन् । ‘पैसाका लागि रुसी सेनामा भर्ना हुँदा मैले धेरै नै दुःख पाएँ’ उनले भनेका छन् । विकासले रुसमा धेरै जोखिम भएकाले पैसाका लागि रुसी सेनामा नआउन आग्रह गरेका छन् । जो–जो यहाँ आउने सोचमा हुनुहुन्छ, कृपया नआउनु होला । उनीहरु हामीलाई जंगली जनावर जस्तै व्यवहार गर्छन् । यहाँ बाँच्न धेरै गाह्रो छ ।’ उनले रुसी सेनामा भर्ना भएका आफ्ना केही साथीहरु मारिएको समेत खुलाएका छन् ।