काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले आफ्नो सेयर खरिद बिक्री सम्बन्धी भएको विवरण अझै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाएको छैन । एनसेलले मंसिर १९ मा प्राधिकरणलाई एक पत्र पठाउँदै सम्पूर्ण कागजात संकलन गरेर चाँडै नै सेयर खरिद बिक्री स्वीकृतिका लागि प्राधिकरणसमक्ष पेश गर्ने भनेको थियो । पुस १ गतेसम्म एनसेलले प्राधिकरणमा कुनै कागजात बुझाएको छैन । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आइतबारसम्म एनसेलले कुनै विवरण नपठाएको बताए । एनसेलको मूख्य कम्पनी आजियाटाले डिसेम्बर १ मा आफ्नो सेयर स्वामित्व बिक्री गर्दै नेपालबाट बाहिरिएको घोषणा गरेको थियो ।
एनसेलको ८० प्रतिशत सेयर रेनोल्ड होल्डिङ्को नाममा छ भने २० प्रतिशत सुनिभेरा क्यापिटल भेन्चरको नाममा छ । मलेसियन कम्पनी आजियाटाको बेलायती कम्पनी आजियाटा युके लिमिटेड अन्तर्गत रेनोल्ड होल्डिङ्स रहेको थियो । आजियाटा युके लिमिटेडले नेपाली मूलका व्यवसायी सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई रेनोल्ड होल्डिङ्स बिक्री गरेको हो । यो खरिद बिक्री प्रकरणमा अस्वाभाविक मूल्य र प्रक्रियाले विवाद चुलिएपछि अहिले सरकारको उच्चस्तरीय समितिले पनि छानबिन गरिरहेको छ ।