काठमाडौं । नेपाल वायुसेवा निगमको आम्दानी पछिल्लो तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ। तीन वर्षमा आम्दानी १४४ प्रतिशतले बढेको निगमका प्रवक्ता रमेश पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
उनका अनुसार आ. व ०७७/७८ मा निगमले ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रुपैयाँ र आ. व ०७८/७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रुपैयाँ आम्दानी गरेको छ। आ. व ०७९/८० को प्रारम्भिक कुल आम्दानी २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ रहेको पौडेलले बताएका छन्।
हाल निगमको अन्तर्राष्ट्रियतर्फ चारवटा र आन्तरिकतर्फ दुईवटा जहाज उडानमा रहेका छन्। हालको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढंगले बजारीकरण गरी अझै धेरै आम्दानी गर्न आवश्यक कार्ययोजना बनाउने काम भइरहेको निगमले जनाएको छ।