एजेन्सी । तमिलनाडुमा भारी वर्षाका कारण आएको बाढीमा परि कम्तीमा १० जनाको मृत्यु भएको छ । ग्रामीण क्षेत्र र सडकमा पानी जमेका कारण १२ हजारभन्दा बढी मानिस सुरक्षित स्थानतर्फ जान बाध्य भएको राज्य सरकारी अधिकारीहरूले बताएका छन् । यस महिनाको सुरुमा तमिलनाडु र आन्ध्र प्रदेशले शक्तिशाली चक्रवाती आँधीको सामना गर्नुपरेको थियो। विगत केही दिनदेखि तमिलनाडुमा परेको लगातारको वर्षा यही आँधीको परिणाम भएको बताइएको छ ।
सामाजिक सञ्जालमा आइरहेका यससँग सम्बन्धित तस्विर र भिडियोमा तमिलनाडुको ठूलो क्षेत्र जलमग्न भएको र त्यहाँ फसेका मानिसहरूलाई बचाउन उद्धार टोलीले डुङ्गाको प्रयोग गरिरहेको देख्न सकिन्छ। यो वर्ष तमिलनाडुमा सामान्यभन्दा २० गुणा बढी वर्षा भएको छ । तमिलनाडुमा भारी वर्षाका कारण ठूलो क्षेत्र पानीमा डुबेको छ । चार जिल्लामा जलमग्न अवस्था सिर्जना भएको छ । सडकदेखि घरसम्म सबै पानीमा डुबेको छ । ठूलो संख्यामा मानिसहरूलाई राहत शिविरमा सारिएको छ।