अर्थ-राजनीतिक, सामाजिक मुल्य-मान्यता बदलिए तर जनयुद्ध लडेको माओवादीको मनोवृत्ति बदलिएन

हिजोको जनयुद्धमा/छापामार युद्धमा माओवादी कार्यकर्ता हरुलाई अत्यन्तै आक्रामक तरिकाले स्कुलिङ्ग गरिएको थियो । सामन्ती शोषण, साम्राज्यवादी हस्तक्षेप र अन्य सामाजिक विकृति र बिसङ्गतिकाविरुद्ध बलिदान भावका साथ संघर्षमा उतारिएको थियो । भलै मुल नेतृत्वको नियत के थियो अहिले शंका गर्ने प्रसस्त ठाउँ छ, अरु नेता-कार्यकर्ताको ठूलो पंक्ति ज्यान हत्केलामा राखेर मुक्ति र स्वतन्त्रताको लडाइँमा लामबद्व बनेका थिए । जनयुद्धले राष्ट्रिय राजनीतिमा ठूलै उथलपुथल ल्यायो र राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीतिमा पनि एउटा तरङ्ग पैदा गरिदियो । राजतन्त्र ढल्यो, माओवादी सान्ति प्रक्रियामा प्रवेश गर्यो । माओवादी लडाकुको एउटा सानो हिस्सा नेपाली सेनामा समायोजन भयो । धेरै राजनीतिक घटनाक्रमहरु अगाडि बढे ।

लेखक : देवाखर भट्टराई

माओवादी नेताहरूले बिस्तारै आफ्नो धरातल छोड्दै गए । पार्टी टुट फुट र विभाजनको कहालीलाग्दो दुस्चक्रमा फस्दै गयो । नेताहरूले चोला फेर्दै गए । जनयुद्धमा अत्यन्त वीरता, शाहस र समर्पण प्रस्तुत गरेका हजारौं कार्यकर्ताहरु रोजीरोटीका लागि विदेशिन थाले । हुँदा-हुँदा अरबी देशहरुमा सेक्युरिटी गार्डदेखि रसियन आर्मीमा भर्ति हुने, मेक्सिको हुँदै अबैध बाटोबाट सरणार्थी बनेर अमेरिका छिर्ने । गाउँ घरतिर गिटि-बालुवाको ठेकेदार बन्ने, शहर-बजार तिर विभिन्न नियुक्ति र सरुवा-बढुवाको लागि कमिसन एजेन्ट बन्ने नयाँ अध्याय शुरु भयो । एक अर्थमा जनयुद्धको उर्जालाई अर्थपूर्ण आर्थिक-सामाजिक रुपान्तरणको उद्देश्यमा बदल्न सकिएन, नेतृत्वले आफ्नो स्वार्थ मात्र हेर्यो, सबै कुरा असरल्ल छोडिदियो ।

युग बदलियो, समय फेरियो, जनयुद्धको पुस्ता नै पुरानो भैसक्यो । सामाजिक आयामहरु धेरै बदलिए, सुचना-प्रविधिमा आएको अभुतपूर्व क्रान्तिले राजनीतिक- सामाजिक क्रान्तिका मुल्य र मान्यताहरु बदलिए तर जनयुद्ध लडेका माओवादीका नेता-कार्यकर्ताहरुको मनोवृत्ति अझै बदलिएको छैन । रणनीतिक प्रत्याक्रमणको तेस्रो र अन्तिम चरण कहिल्यै आएन तर नेता-कार्यकर्ताहरूले क्रान्तिको कुरा गर्न छोडेका छैनन् । फरक बिचार र मतलाई हेर्ने दृष्टिकोण जनयुद्धकालीन नै छ ।

नेतृत्वले स्पष्ट रूपमा अगाडिको मार्गदर्शन गर्न सकेन । यत्रो अभुतपुर्व र ऐतिहासिक क्रान्तिको उर्जालाई आफ्नो पकेट भित्र कैद गर्यो । तर यो तथ्यलाई स्वीकार गर्न नसकेर जनयुद्ध लडेका, मुक्ति र सुन्दर राष्ट्र-समाज निर्माणको सपना देखेका हामी हजारौं नेता-कार्यकर्ताहरु अझै पनि प्रचण्ड-बाबुराम-बैध-बादल र विप्लवसङ्ग आशाको नजरले हेरिरहेका छौं । हिजोकै युद्धकालीन चरित्र र स्वभाव प्रदर्शन गरिरहेका छौं । तर अहिलेको आवश्यकता यो स्कुलिङ्गलाई पुरै परित्याग गर्ने, समाजको नयाँ चरित्र-आयाम सङ्ग आफुलाई अन्तर्घुलित गर्ने, सत्य तितो हो परन्तु यो कुरा स्वीकार गर्न सबैलाई गार्हो भने हुन्छ ।

More From Author

१६८ मुरी धान फलाउने किसानलाई ५० हजार पुरस्कार

क्रिसमस डिनरपछि एयरबस एट्लान्टिकका ७०० कर्मचारी बिरामी

Leave a Reply