काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । संसद्मा विचाराधीन विधेयकबारे आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो। दाहाल, देउवा र ओलीले विधेयकबारे नियमित छलफल गरी टुंगोमा पुर्याउने सहमति गरेका थिए । त्यही सहमतिबमोजिम सोमबार दलका अन्य नेताहरुसहित छलफलमा जुटेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरदेखि बसिरहेको बैठकमा प्रधानमन्त्री दाहाल, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कांग्रेसका सभापति देउवा, एमाले अध्यक्ष ओली, कांग्रेस उपसभापति एवम् कानुनमन्त्री धनराज गुरुङ, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, एमाले सचेतक महेश बर्तौला, कांग्रेस नेता एवम् वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलगायत नेता सहभागी छन् ।
सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता गरेको छ । तर दलहरुबीच विधेयकका विषयहरुमाथि सहमति जुट्न सकिरहेको छैन भने पीडितहरुले पनि विधेयकका कतिपय व्यवस्थामाथि असन्तुष्टि जनाउँदै आएका छन् ।