काठमाडौं । यतिबेला देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भू-भागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थान तथा देशका बाँकी तराई भूभागका एक-दुई स्थानमा अहिले हल्का देखि मध्यम हुस्स र कुहिरो लागेको छ।
शुक्रबार दिउँसो पनि देशको पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था रहने छ। राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ।
शनिबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश आंशिक बदली रहने छ। शनिबार कोशी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।