बालकुमारीमा आदेशबिनै गोली चल्दा गृह मन्त्रालय तानिए ललितपुरका सीडीओ

0
6

ललितपुर । शुक्रबार ललितपुरको बालकुमारीस्थित रोजगार अनुमति प्रणाली (ईपीएस) को कार्यालय ग्वार्को अगाडि भएको घटनाका कारण जिल्लाका सरकारी अधिकारीहरूको व्यापक जिम्मेवारी हेरफेर भएको छ। शुक्रबार दिउँसो बालकुमारीमा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी जलाइएपछि घटेको घटनाका कारण दुई युवाले ज्यान गुमाएका थिए।

सो घटनामा संलग्न प्रहरी अधिकारी र मन्त्रीका पिएसओ निलम्बनमा परेका छन्। एकजना प्रहरी अधिकारी र प्रमुख जिल्ला अधिकारीको भने सरुवा भएको छ। जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ। त्यस्तै, सीडीओ रुद्र पण्डितलाई गृह मन्त्रालय तानिएको हो।

बालुवाटारमा गृहमन्त्रीको ब्रिफिङपछि सरकारी पक्षको कमजोरी देखिएको निष्कर्ष निकाल्दै सातदोबाटोका डीएसपी उमेश लम्साल र मन्त्री ज्वालाका पिएसओ बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय भएको थियो।

जिल्ला सुरक्षा समितिको प्रमुख सीडीओ हुने भएकाले उनको आदेशविना गोली चलाउन नपाइने व्यवस्थामा टेक्दै उनलाई गृह तानिएको स्रोतको दाबी छ। भीड नियन्त्रण गर्न चुकेको कारण पण्डित कारबाहीमा परेका हुन्।

ad

Leave a Reply