बैतडी । नेकपा माओवादी केन्द्र बैतडीले राष्ट्रिय सभाका उम्मेदवारका लागि तीन नेताको नाम सिफारिस गरेको छ । यही माघ ११ गते हुने निर्वाचनका लागि बैतडीबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य अग्नि धामी, वैकल्पिक केन्द्रीय सदस्य भुवनचन्द्र बिक (शान) र माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समिति सदस्य गोपाल चन्दलाई सिफारिस गरेको छ । सुदुरपश्चिमबाट माओवादी केन्द्रका दुई जना सांसद हरिराम चौधरी (उत्सव) र महेश महराको कार्यकाल सकिदैछ ।
संसद् सचिवालयका अनुुसार एमालेका आठ, कांग्रेसका चार, माओवादी तीन, एकीकृत समाजवादी दुई, जसपा एक र स्वतन्त्र दुई गरी अध्यक्षसहित २० को कार्यकाल सकिँदै छ । रिक्त सिटमा ११ माघमा निर्वाचन हुँदै छ । २० सिटमध्ये बागमतीमा चार, गण्डकी, कर्णाली र सुदूरपश्चिममा तीन–तीन र कोशी, मधेश र लुम्बिनी प्रदेशमा दुई–दुई सिट रिक्त छ । निर्वाचन आयोगले सार्वजनिक गरेको छ । जसमा नयाँ मतभार अनुसार गठबन्धन अगाडि देखिएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडलका अनुसार आयोगले ०७८ मा सम्पन्न राष्ट्रिय जनगणनाअनुसार जनसंख्याका आधारमा नयाँ मतभार कायम गरेको छ । मतभारमा एक प्रदेश सांसदको ५३ र एक पालिका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षको १९ मतभार कायम भएको छ । यसअघि प्रदेश सांसदको ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको १८ मतभार थियो । आयोगले सार्वजनिक गरेको प्रदेशगत दलीय मतभार हेर्दा सत्तागठबन्धनको पकड देखिन्छ ।