दार्चुला । नेकपा एमालेको दार्चुला जिल्लाको ९ औँ अधिवेशनमा माओवादी पृष्ठभूमिका तीन नेताहरु महत्वपूर्ण पदहरुका लागि मैदानमा उत्रिएका छन् । नेकपा एमाले दार्चुलाको जिल्ला अध्यक्षका लागि प्रेमसिंह धामी, उपाध्यक्ष पदका लागि कृष्णसिंह धामी (हिमाल) र सचिव पदका लागि धर्मानन्द मन्यालले उम्मेदवारी घोषणा गरेका छन् । पुुस १८ र १९ गते हुने ९ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । जिल्ला अधिवेशनबाट पाँच जना पदाधिकारी सहित नयाँ जिल्ला कमिटी चयन हुने छ ।
एमाले दार्चुलामा जिल्ला कमिटी अध्यक्षका लागि धेरैको आकांक्षा देखिएका छन् । भने पाँच सदस्यीय पदाधिकारीका लागि २७ जना आकांक्षी देखिएका छन् । अध्यक्षका लागि ४ जना, उपाध्यक्षमा ५ जना, सचिवमा ५ जना र उपसचिवमा १३ जना आकांक्षी रहेका छन् । उपसचिव खुल्लातर्फ ७ जना र समावेशी महिलातर्फ ६ जनाले आकांक्षी देखीएका छन् । जिल्ला कमिटी अध्यक्षका पदका लागि पूर्वजिल्ला कमिटी सचिव ज्ञानेन्द्र घर्ती, पूर्वजिल्ला कमिटी उपाध्यक्ष उदयसिंह बडाल र जिल्ला कमिटी सचिवालय सदस्य परमानन्द जोशी वर्तमान अध्यक्ष प्रेम धामीसँग चुनावी प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै उपाध्यक्षमा भगतसिंह ऐतवाल, खिमानन्द भट्ट, विशनराम लोहार र मंगलसिंह ठगुन्नासँग पूर्व माओवादीका प्रदेश कमिटी सदस्य हिमालले प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै माओवादी पृष्ठभूमिका नेता धर्मानन्द मन्यालसँग गंगादत्त जोशी, वर्तमान जिल्ला उपसचिव उपसचिव खडकसिंह बडाल, वर्तमान जिल्ला कमिटी सदस्य उमेशराज जोशी र लक्ष्मीप्रसाद जोशीले चुनावी प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै उपसचिव खुल्लामा ७ जना र समावेशीतर्फ महिला उपसचिव पदका लागि ६ जना आकांक्षी देखिएका छन् ।
अहिले धेरै आकांक्षी देखिए पनि सहमतिमै नयाँ नेतृत्व चयन गरिने नेकपा एमाले दार्चुला जिल्ला ईन्चार्ज सहदेब बोगटी बताउँछन् । तर आठौँ महाधिवेशनमा माओवादीका पृष्ठभूमिका नेता प्रेमसिंह धामीले एमालेका रैथाने नेताहरुलाई पराजीत गरेका थिए । त्यसको बदला लिन भए पनि यस पटक माओवादी पृष्ठभूमिका नेताहरुलाई चुनावी प्रस्पिर्धाबाटै तह लगाउने एमालेका रैथाने नेताहरुको मनसाय रहेको एमाले सुदूरपश्चिम प्रदेश कमिटीका एक सदस्य बताउँछन् ।