काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि एमालेले आफूलाई ६ सिट दिन प्रस्ताव गरेको छ। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु र कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई ६ सिट छुट्याउन प्रस्ताव गरेका थिए। बैठकमा प्रधानमन्त्री प्रचण्डले भने ३ सिटका लागि आफूले गठबन्धन दलहरूलाई सहमत गराउन सक्ने बताएका थिए।
‘केपीजीले सुरूमा एमालेबाट ९ जनाको पदावधि सकिन लागेकाले ९ जना नै एमालेले पाउनुपर्ने प्रस्ताव गर्नुभएको थियो, मैले ३ जनासम्म सकिन्छ भनेपछि उहाँले ६ सिटको दाबी गर्नुभयो,’ बिहीबार बिहान बसेको गठबन्धन दलको बैठकमा प्रधानमन्त्रीले गरेको ब्रिफिङमा उद्धृत गर्दै भन्यो।
प्रचण्डले बुधबार साँझको बैठकबारे बताउने बित्तिकै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त्यसको विरोध गरेका थिए। प्रमुख प्रतिपक्षीलाई सिट दिने भन्ने कुरा सैद्धान्तिक, व्यावहारिक र रणनीतिक रूपमा उपयुक्त नभएको नेपालले बताएका थिए।
नेपालको फरक मतका कारण सहमति हुन नसकेपछि बैठक टुंगोमा पुग्न नसकेको स्रोतको भनाइ छ। १९ सदस्यका लागि माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी मनोनयन छ। त्यसअघि नै सिट भागबण्डा मिलाउनका लागि दलहरू दिनदिनै छलफलमा छन्।