बर्दिया निकुञ्जको गोदामबाट बाघका २५ वटा दाह्रा र गैंडाको खाग गायब

0
7

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जको गोदामबाट पाटे बाघका २५ वटा दाह्रा र एउटा गैंडाको खाग गायब भएको पाइएको छ । निकुञ्जमा नयाँ वार्डेनका रुपमा अशोक भण्डारी गएपछि जिन्सी शाखामा दाह्रा र गैंडाको खाग गायब भएको विषय बाहिर आएको हो । यद्यपि, भण्डारीभन्दा अघिका वार्डेन विष्णुप्रसाद श्रेष्ठले आफू कार्यरत् रहँदा बाघको दाह्रा र गैंडाको खाग गोदामबाट हराएको थाहा पाइसकेका थिए ।

छानबिनमा संलग्नहरुका अनुसार, उनीहरुले यसबारे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई समेत जानकारी गराएका थिएनन् । कुराकानीका क्रममा भने श्रेष्ठले आफूलाई बाघको दाह्रा र गैंडाको खाग हराएकोबारे जानकारी नभएको दाबी गरे ।

‘स्टोर निरीक्षण गरेर त्यतिबेलै प्रमाणित गरेर बुझाएर म हिँडेको हुँ’, उनले भने, ‘त्यतिबेला हराएको विषयवस्तु नै आएको थिएन ।’ श्रेष्ठको सरुवा भएर भण्डारी गएपछि हराएको थाहा हुँदा २२ असोज २०७९ मा विभागलाई यसबारे पत्राचार भएको थियो ।

निकुञ्ज विभागले अनुसन्धान अधिकृत मनोज शाहको नेतृत्वमा कानून मन्त्रालय, नेपाली सेनाको जंगीअड्डा, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० समेतको प्रतिनिधित्व हुने गरी छानबिन समिति गठन गरेको थियो । समितिले स्टोरकिपर सिनियर गेमस्काउट सुभासकुमार थारु र गेमस्काउट उपारसिंह लामालाई शंकास्पद मान्दै निलम्बन गरेर छानबिन गर्नुपर्ने भनेको थियो । तर, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उनीहरुलाई सरुवा मात्र गरेर छाडेको छ ।

छानबिन समितिका सदस्यहरुका अनुसार, बाघको दाह्रा र गैंडाको खाग २०७८ को चैत महिनासम्मको गणनामा उल्लेख छ । ‘२०७९ वैशाखदेखि २०७८ साउन २२ गतको अवधिमा हराएको देखिन्छ’, छानबिन समिति स्रोतले भन्यो । समिति स्रोतका अनुसार, बाघको दाह्रा र गैंडाको खाग हराएको अवधिमा दिलकुमारी चौधरी, सविता गुरुङ, मनकुमारी सोती र रिता सुब्बा गरेर ४ जना महिला कर्मचारी त्यहाँ बसेको पाइएको छ ।

यशोदा पुन र सीता कुमारी कँडेल उक्त भवनमा नबसे पनि छानबिनको दायरामा ल्याउनुपर्ने भनिएको थियो । भित्रको कर्मचारीको मिलेमतोविना गायब बनाउन सम्भव नहुने भन्दै गम्भीर छानबिन हुनुपर्ने समितिले बनेको थियो ।

छानबिन समितिले निकुञ्जको भण्डारणबाट बाघको दाह्रा र गैंडाको खाग गायब भएको प्रकरणलाई ‘आपराधिक घटना’ भन्दै गम्भीर अनुसन्धान गर्नुपर्ने भनेको थियो । स्टोरकिपरले समेत केही प्रश्नको सन्तोषजनक जवाफ नदिएको भन्दै उनलाई निलम्बन गरेर कानून अनुसार कारबाही एवं अनुसन्धान अघि बढाउनुपर्ने भनेको थियो ।

तर, स्टोरकिपरमध्ये सिनियर गेम स्काउट लामा अहिले शिवपुरी राष्ट्रिय निकुञ्जमा सरुवा गरिएका छन् भने सुवास थारु बर्दियाकै एक पोष्टमा पठाइएका छन् । जबकि, छानबिन समितिले उनीहरुलाई निगरानीमा राखेर अनुसन्धान गर्नुपर्ने भनेको थियो ।

शंकामा रहेका सबै कर्मचारीको कल डिटेल रेकर्ड (सीडीआर), आर्थिक कारोबार, सम्पत्ति, मोबाइल लगायतको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) बाट जाँच हुनुपर्ने भनेको थियो ।समितिले आगामी दिनमा यस्तो घटना हुन नदिन वन्यजन्तु अपराधसँग सम्बन्धित यस्ता दसी प्रमाण र आखेटोपहार राख्नका लागि एउटा कम्प्लेक्स निर्माण गरेर त्यसलाई चारैतिरबाट क्लोज सर्किट क्यामराको निगरानीमा राख्नुपर्ने भनेको छ ।

ad

Leave a Reply