ईपीएस भाषा परीक्षा एक महिनापछि धकेलियो

काठमाडौं । दक्षिण कोरियामा औधोगिक क्षेत्रको रोजगारीका लागि लिइने ईपीएस भाषा परीक्षा एक महिना पछि धकेलिने भएको छ। यसअघि एचआरडी कोरिया र ईपीएस कोरिया शाखाबीच माघ ६ गते (जनवरी २०) देखि परीक्षा सञ्चालन गर्ने सहमती भएपनि उक्त मितिमा परीक्षा सञ्चालन नहुने निश्चित भएको हो।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार सञ्चालनका लागि तयारी नपुग्दा परीक्षा करिव एक महिना पछि धकेलिने भएको छ। एचआरडी कोरियाले ईपीएस शाखालाई माघ २१ गते (फेब्रुअरी ४) मा सूचना जारी गरेर तेस्रो हप्तामा परीक्षा सञ्चालन गर्ने गरी तयारी गर्न भनेको छ। भाषा परीक्षाका लागि आवेदन दिनेको संख्या धेरै भएपछि यसअघि तयारी गरेको मितिमा परीक्षा सञ्चालन गर्न नसकिएको एचआरडी कोरियाले ईपीएस शाखालाई जानकारी गराएको छ।

यसअघि कम्प्युटरबाट परीक्षा दिँदा एक लाखभन्दा कम भएको र सोही अनुसारको प्रणालि तयार रहेको तर अहिले एकलाख बढी आवेदक भएपछि प्रणालिमा केही परिवर्तन गर्नु पर्ने भएकाले परीक्षा सञ्चालनमा केही ढिलाइ भएको हो ।

‘पहिले सिस्टम हजारको डिजिटमा थियो, अहिले लाखको डिजिटमा बनाउनु पर्दा समय लाग्ने भयो। उनीहरुले सिस्टम सिक्स डिजिटको बनाएर खुला गरिदिएका छन्। त्यसपछि अपलोट गर्दा समय लागेको हो’, महानिर्देशक घिमिरेले भने, ‘फेब्रुअरी ४ सम्ममा सूचना निकाल्न सकिन्छ होला भन्ने कुरा भएको छ। तर फेब्रुअरीमा परीक्षा हुन्छ।’ उत्पादनमुलक क्षेत्रको रोजगारीका लागि हुने भाषा परीक्षामा करिव १ लाख ६४ हजार जनाले आवेदन दिएका छन्। उनीहरूलाई तीन चरणमा भाषा परीक्षामा सहभागी गराइने छ।

पहिलो चरणमा ४७ हजारले परीक्षा दिन पाउने छन्। दोस्रो चरणमा ८० हजार र बाँकीले तेस्रो चरणमा भाषा परीक्षामा सहभागी हुन पाउने छन्। एक लाख ६४ हजार जनाको परीक्षा लिनका लागि समय धेरै लाग्ने भएपछि ईपीएस शाखाले थप उपकरण माग गर्दै कोरियालाई पत्र पठाइसकेको छ।

अहिले दैनिक ५ सिफ्टमा परीक्षा सञ्चालन गर्दा एक हजार जनाले मात्रै दिन सक्नेछन्। क्षमता बढाउनका लागि कोरियालाई आग्रह गरिएको छ । भाषा परीक्षा शनिबार र आइतबार पनि सञ्चालन गर्ने तयारी छ।

More From Author

राष्ट्रपतिले संसदीय दलका नेतालाई शीतल निवास

चार वर्षमा पाँच धनाढ्यको सम्पत्ति दोब्बर

Leave a Reply