१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

नृृत्यका विश्व कीर्तिमानी दिदीबहिनी म्यूजिक भिडियोमा व्यस्त



काठमाडाैं । नृत्यको माध्यमबाट आफ्नो मात्र नभएर देशको नाम विश्व सामू चिनाउन सफल रुबिसा र एलिसा श्रेष्ठ अहिले म्यूजिक भिडियोमा व्यस्त हुनुहुन्छ । उहाँहरु दुबैजना दिदीबहिनी हुनुहुन्छ । उहाँहरु केही महिना अघि लगातार ४१ घण्टा ५ मिनेट लोक नृत्य गरी गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाउन भएको थियो ।

यसअघि यो कीर्तिमानी संयुक्त राज्य अमेरिकाका नागरिक ब्रेट ग्रिसवल्र्ड र जेनिफर ग्रिसवर्ल्डको नाममा छ । उनीहरुले ३८ घण्टा ३८ मिनेट निरन्तर नृत्य गरेका थिए ।

विभिन्न म्युजिक भिडियोमा नृत्यमा व्यस्त श्रेष्ठ भन्नुहुन्छ, ‘मैले म्युजिक भिडियोमा अभिनय गरेको होइन, नृत्य गरेको हो । नृत्यको माध्यमबाट केही गर्ने इच्छा भएकाले गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाउन सफल भएँ ।’

चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ स्थायी घर भएको उहाँहरु सानैदेखि नृत्यमा रुचि राख्नुहुन्थ्यो । आफ्नो बुवाको प्रेरणाको कारण नृत्यमा लाग्नुभएको श्रेष्ठद्वयले सानै उमेरदेखि विभिन्न कार्यक्रममा सहभागिता जनाउँदै आउनुभएको छ । टंक बुढाथोकीको ‘मन विनाको धन ठूलो’ बोलको गीतबाट म्युजिक भिडियोमा प्रवेश गर्नुभएको श्रेष्ठद्धयले एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा आफ्नो नृत्य प्रस्तुत गरिसक्नुभएको छ ।

दुर्गेश थापाको तीजको गीतमा समेत आफ्नो नृत्य प्रस्तुत गरिसक्नुभएको श्रेष्ठ द्धयले नृत्यबाट मनोरञ्जन मात्र नभएर शरीरलाई स्वस्थ पार्न सकिने बताउनुहुन्छ ।

रुबिसा हाल स्नातक दोस्रो वर्ष तथा एलिसा स्नातक पहिलो वर्षमा अध्ययनरत हुनुहुन्छ । उहाँहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रमाणपत्र प्रदान गरिसक्नुभएको थियो । विश्व कीर्तिमानी राखेका दुई दिदीबहिनीलाई राष्ट्रपति भण्डारीले नेपालको छोरीले नेपालको नाम राख्न सफल भएकोमा खुसी व्यक्त गर्दे आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस !