१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

म्याग्दीमा मात्रै आठ सय मेगावाट विधुत



बेनी । देशभर एक हजार दुई सय मेगावाट बिजुली उत्पादन भइरहेको मौजुदा अवस्थामा एकै जिल्लामा झण्डै आठ सय मेगावाटको बिजुली उत्पादनको थालनी सुखद सन्देश हो । यो सुवर्ण अवसर म्याग्दीले प्राप्त गर्दैछ ।

म्याग्दीमा अहिले ६२९ मेगावाट क्षमताको विद्युत् उत्पादनका लागि निर्माण प्रक्रिया सुरु भएको छ । त्यसअघि १५९ मेगावाट क्षमताका लागि सर्वेक्षण अनुमति प्राप्त भइसकेको छ । मौजुदा सात मेगावाटको विद्युत् उपलब्ध छ । सबै आयोजना पूरा हुँदा एक जिल्लामा ७९५ मेगावाट अर्थात् झण्डै आठ सय मेगावाट विद्युत् उत्पादन हुनेछ ।

विद्युत् विकास विभागका अनुसार म्याग्दीबाट मात्रै झण्डै आठ सय मेगावाट विद्युत् उत्पादन हुने गरी प्रक्रिया अगाडि बढिरहेको छ । निर्माणको प्रक्रिया रहेकाबाहेक विभिन्न १७ समूहले १५९ मेगावाट क्षमताको आयोजनाका लागि सर्भेको अनुमति पाएकोे विद्युत् विकास विभागका सूचना अधिकारी नीशा रिजालले जानकारी दिनुभयो ।

हालसम्म म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा रहेको घलेम्दी हाइड्रोले पाँच मेगावाट र तातोपानी साना जलविद्युत् आयोजनाले दुई मेगावाट विद्युत् उत्पादन गरिरहेका छन्् । नेपाल विद्युत् प्राधिकरण स्वामित्वको राहुघाट जलविद्युत् आयोजनाबाट ४० मेगावाट विद्युत् उत्पादनका लागि नौ अर्ब १६ करोड रुपियाँ लगानी हुँदैछ ।

पश्चिम म्याग्दीको दरवाङमा म्याग्दी खोला दरवाङ आयोजनाबाट २५ मेगावाट विद्युत् उत्पादनका लागि धौलागिरि कालिका हाइड्रोले पाँच अर्ब १५ करोड रुपियाँ लगानी गर्ने गरी निर्माण थालेको छ । निर्माण थालिएका १५ जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो कालीगण्डकी गर्ज १६४ मेगावाट क्षमताको रहेको छ । मुस्ताङको दामोदर कुण्डबाट बग्ने कालीगण्डकी नदीको पानी प्रयोग गरेर बन्न लागेको कालीगण्डकी गर्जले २०७५ सालमा निर्माण अनुमति पाएको हो । नीलगिरि खोलामा नीलगिरि हाइड्रोले ११० मेगावाट उत्पादन गर्न द्रुत गतिमा काम भइरहेको नीलगिरि जलविद्युत्का प्रतिनिधि उपेन्द्र गौतमले जानकारी दिनुभयो  । दुवै गरी करिब १६ अर्ब रुपियाँ लागत अनुमान गरिएको छ । कोरोना सङ्क्रमणका कारण बन्दाबन्दी नभएको भए उत्पादन नै सुरु भइसक्ने थियो, गौतमको दाबी छ ।

निर्माणाधीन घार खोला १४ मेगावाटका लागि दुई अर्ब ४० करोड रुपियाँ लगानी हुँदैछ । त्यस्तै ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत् निर्माणका लागि रुवर्टस् इनर्जी लिमिटेडले छ अर्ब ५४ करोड रुपियाँ लगानी गर्दैछ । उक्त जलविद्युत्को निर्माण कार्य करिब ९८ प्रतिशत सकिएको कम्पनीका प्रतिनिधि चुडामणि निरौलाले बताउनुभयो ।

म्याग्दीमा विद्युत् उत्पादनका लागि हालसम्म १५ वटा कम्पनीले निर्माण सुरु गर्ने अनुमति लिएकोमा सबैले काम भने थालेका छैनन् । राहुघाट, मिस्त्री खोला, दरवाङ म्याग्दी खोला, घार खोला, माथिल्लो राहुघाट र नीलगिरि लगायतको काम थालनी भएको छ ।

यसैगरी मध्य कालीगण्डकी, ठूलो खोला हाइड्रो, माथिल्लो म्याग्दी–पहिलो, कालीगण्डकी गर्ज, रेले खोला आयोजना भने निर्माणको तयारीमा रहेका छन् । रुप्से खोला जलविद्युत्का लागि भने विरोध भएको छ । पर्यटकीय रुप्से झरनाको पानी झरनाभन्दा माथिबाटै लैजान लागिएपछि स्थानीयवासीले उक्त आयोजनाको विरोध गरिरहेका छन् ।

विभागका सूचना अधिकारी रिजालका अनुसार हाल म्याग्दी जिल्लाभित्रका विभिन्न १७ वटा जलविद्युत्का लागि सर्भे लाइसेन्स जारी भएको छ । म्याग्दीको चिम खोला, कुइनेमङ्गले, मुना, मुदी, नारच्याङ, दाना, गुर्जा, दरवाङमा विद्युत् उत्पादनका लागि सर्भे गर्नका लागि लाइसेन्स लिएका छन् । कुल १५ वटा विद्युत् कम्पनीले भौतिक निर्माणको लाइसेन्स (अनुमति) लिएर काम थालेका छन् ।- गोरखापत्र अनलाईन


प्रतिक्रिया दिनुहोस !