गोदावरीको प्रशासकीय भवन दोहोर्‍याएर उद्घाटन, पहिलेको शिलालेख हटाएर मेयरको नाम

0
13

गोदावरी नगरपालिकाको प्रशासकीय भवन नगर प्रमुख वीरेन्द्र भट्टले बिहीबार दोहोर्‍याएर उद्घाटन गरेका छन् । उनले उद्घाटन कार्यक्रमको सुरसार गरिरहँदा प्रतिपक्षी एमाले कार्यकर्ताले गेट छेकेर अवरोध गर्दै नाराबाजी गरे । स्थिति सामान्य बनाउन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुपरेको थियो । 

यसअघि ०७८ चैत १४ तत्कालीन नगर प्रमुख हरिसिंह साउँदले त्यही प्रशासनिक भवनको उद्घाटन गरेका थिए । साउँदले पनि त्यसबेला भवनको निर्माण कार्य पूरा नहुँदै उद्घाटन कार्यक्रम राखेका थिए । कांग्रेसले त्यसबेला साउँदको चर्को आलोचना गरेको थियो । उद्घाटन मोह प्रस्तुत गरेका दुवै नगर प्रमुखमध्ये साउँद एमालेबाट निर्वाचित थिए भने वर्तमान नगर प्रमुख भट्ट कांग्रेसबाट निर्वाचित हुन् । ‘जनजीविकाका विषयमा ध्यान दिन छाडेर एक पटक उद्घाटन भइसकेको कार्यालय भवन फेरि उद्घाटन गर्नु अराजनीतिक चरित्र हो,’ एमाले केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश संसदीय दलकी उपनेता सन्तोषकुमारी शर्मा थापाले भनिन् ।

नगर प्रमुख भट्ट भने यसअघिको उद्घाटन अनुचित तरिकाले गरिएका कारण अहिले उद्घाटन कार्यक्रम राखेको बताउँछन् । ‘हस्तान्तरण नहुँदै त्यसबेला गरिएको उद्घाटनको के अर्थ ? भवन पनि अधुरै थियो र विरोध पनि गरेका थियौं,’ उनले भने, ‘अहिले एमालेबाहेक सबै दलले उद्घाटन गर्नुपर्छ भनेपछि उद्घाटन कार्यक्रम राखेका हौं ।’ नगर उपप्रमुख शारदादेवी रोकायाले नगरपालिका भवन पुनः उद्घाटन नगर्न नगर प्रमुखलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि पनि बेवास्ता गरेको बताइन् ।

बिहीबारको उद्घाटनका बेला नगरप्रमुख भट्टले यसअघि साउँदले राखेको उद्घाटन शिलालाई हटाएर आफ्नो नामको राखेका छन् । ‘सम्पन्न नभएको योजना उद्घाटन गर्नु र उद्घाटन भएको योजना दोहोर्‍याएर उद्घाटन गर्नु अराजनीतिक हो,’ अत्तरियाका बासिन्दा प्रेम शर्माले भने । नगरपालिकाले एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा गोदावरी–२ तेघरीमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइमार्फत कार्यालय भवन निर्माण गरेको हो । १३ करोड ४६ लाख रुपैयाँ लागतमा २०७६ मंसिरमा निर्माण सुरु भएको भवन दुई पटक म्याद थपेर गत असोजमा सम्पन्न भएको थियो । क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइले माघ २ गते नगरपालिकालाई भवन हस्तान्तरण गरेको थियो ।

२०७५ माघ १ गते म्याग्दी महोत्सव स्थल खुला मञ्चबाट प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले मोबाइल एप थिचेर म्याग्दी खोलाको पानी लभ्लीहिलको डाँडाबाट खसाले । जिल्लाको पहिलो लिफ्ट सिँचाइअन्तर्गत बेनी नगरपालिका–२ ज्यामरुककोटका सिम्ले, दारिमपाटा र खबराका तरकारी पकेट क्षेत्रमा सिँचाइ गर्न लिफ्ट योजना सुरु गरिएको थियो । दाहालभन्दा अगाडि यो योजनाको बेनी नगर प्रमुख हरिकुमार श्रेष्ठ र प्रतिनिधिसभा सदस्य एमाले नेता भूपेन्द्रबहादुर थापाले पालैपालो उद्घाटन गरेका थिए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कृषि ज्ञान केन्द्र र समुदायको साझेदारीमा निर्माण गरिएको जिल्लाको पहिलो लिफ्ट प्रविधिको सिँचाइ योजना अलपत्र पर्दा सरकारी बजेट १६ लाख ५० हजार मात्र खेर गएन, कृषकको ६ लाख बराबरको श्रमदान र नगद साझेदारीको ५ लाख रुपैयाँ लगानी पनि डुबेको तत्कालीन उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताए ।

म्याग्दी नदीबाट २ सय ५० मिटरको उचाइमा रहेको लभ्लीहिलसम्म प्रतिसेकेन्ड ९ लिटर पानी १० मिटर गहिरो ५ मिटर फराकिलो पोखरीमा खसालिएको थियो । तर, लभ्लीहिलबाट अर्को २० मिटर भर्टिकल हाइटमा ५ सय मिटरमाथिको पीपलडाँडाको दोस्रो पोखरीमा पानी पुर्‍याउने लक्ष्य पूरा नहुँदै २०७५ मा अधकल्चो योजनालाई तीन महिनाको अन्तरमा तीन पटक उद्घाटन गराइएको थियो । योजना अपूरो भएपछि वडाले १ लाख ५० हजारको पोलिथिन पाइप, कृषकको ५ लाख र बेनी नगरपालिकाले ५ लाख साझेदारी गरी १० लाखमा दोस्रो खण्डको पोखरी, पम्पिङ सिस्टम, पाइप बिछ्याउनेसमेतका काममा खर्च गरिएको थियो ।

‘लिफ्ट सिँचाइको दुई खण्डमध्ये पहिलो खण्ड निर्माण भएपछि उद्घाटन गरिएको हो,’ तत्कालीन उपभोक्ता समितिका अध्यक्ष कार्कीले भने, ‘दोस्रो खण्ड पूरा नहुँदै म्याग्दी खोला किनारामा खनिएको इनारबाट पानीसँगै बालुवा आएर पाइप फुट्ने समस्या भएपछि योजना असफल भएको हो ।’ दोस्रो चरणको काम पूरा नहुँदै म्याग्दी खोला किनाराको इनारमा प्राविधिक त्रुटिले गर्दा बालुवा पसेको, मोटर बिग्रेको र समयमै योजना मर्मतसम्भार नगर्दा योजना झन् लथालिंग बनेको उनले बताए ।

ad

Leave a Reply