जल तथा मौसम विज्ञान विभागले गत मंसिरमा भनेको थियो– ‘यो हिउँदमा औसतभन्दा धेरै पानी पर्नेछ।’ तर, माघ पहिलो साता बित्दा पनि मुलुकमा पानी परेको छैन। विभागका अनुसार जम्माजम्मी २.७ मिलिमिटर मात्रै वर्षा भएको छ। पूरै हिउँदभरि ४.५ प्रतिशत मात्रै वर्षा भएको हो। विभागले मंसिरमा गरेको प्रक्षेपण मिल्न सकेको छैन। तर, हिउँदका ४० दिन बाँकी रहेकाले कुर्नुपर्ने विभागको भनाइ छ।
विभागका मौसमविद् सुदर्शन हुमागाईं भन्छन्, ‘विभागले भने जस्तो हालसम्म औसतभन्दा धेरै पानी त परेन। तर, हिउँद अझै बाँकी रहेकाले डेढ महिना कुर्ने कि ?’ तर, पछिल्ला वर्षमा हिउँदे वर्षा घट्दै गएको तथ्यांकले नै देखाउन थालेको उनले जनाए। गतवर्ष पनि हिउँदमा सरदरभन्दा कम वर्षा भएको थियो। गतवर्ष सरदरभन्दा ७९ प्रतिशत कम पानी परेको थियो। हुमागार्इं भन्छन्– ‘सन् १९८१ देखि २००० सम्मको अवधिमा भन्दा सन् २००० देखि २०२४ को अवधिमा सुक्खा वर्ष धेरै दोहोरिएका छन्।’ यसले हिउँदे वर्षा घटेको टे«न्ड जनाउँछ। सन् २०२३, २०२१, २०१८, २०१७, २०१६, २०१४, २०१२, २०११, २००९, २००८, २००६, २००१ लगायतका वर्ष पनि पानी परेको थिएन। ‘पहिला पनि हिउँदमा सुक्खा त हुन्थ्यो। आजकल छोटो ग्यापमा सुक्खा हुन थालेको छ,’ हुमागाईं भन्छन्।
नेपालमा पश्चिमी वायुको प्रभावले पानी पार्छ। तर, सिस्टम दिनहुँ मोनिटर गर्दा बलियो खालको पश्चिमी वायुको प्रभाव नदेखिएकाले पानी नपरेको हुमागाईंले बताए। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेल यस वर्ष ३ मिलिमिटरभन्दा कम वर्षा भएको बताउँछन्। उनले प्रत्येक दिन मौसमी अवलोकन गर्ने र त्यसलाई अपडेट गर्दै आएका छन्।
तराईमा सबैजसो जिल्लाहरूमा २५ दिनदेखि अत्यधिक बाक्लो कुहिरो तथा मध्यम खालको हुस्सुले ढाकेकाले शीतलहर चलेको उनी बताउँछन्। हालसम्म २० देखि २५ मिलिमिटर वर्षा हुनुपर्ने भए पनि यो वर्ष ३ मिलिमिटरभन्दा कम वर्षा भएको उनको भनाइ छ। यसको मतलव हालसम्मको अवस्था अवलोकलन गर्दा यो हिउँदमा औसतभन्दा ९५ प्रतिशत कम वर्षा भएको उनको भनाइ छ। अझै केही दिन मात्र होइन सातासम्म नै पानी पर्ने छाँटकाँट नदेखेकाले हिउँद सुक्खा हुने उनी बताउँछन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार हालसम्मको पूर्वानुमान हेर्दा आगामी तीन दिनसम्म वर्षाको संभावना न्यून छ। पहाडी क्षेत्रमा छिटफुट हिउँ पर्ने भए पनि सिस्टम राम्रो नभएकाले पानी नपर्ने उनले बताइन्। ‘प्रभावकारी र वर्षा धेरै गराउने खालको सिस्टम भित्रिएको छैन,’ उनले भनिन्, ‘देशैभरि वर्षा गराउने पश्चिमी वायु भित्रिन नसकेको कारणले वर्षाको संभावना कम भएको हो।’